Logo

मूख्यमन्त्री मिलाउन एमालेलाई सकस : तीन मुख्यमन्त्रीका लागि एक दर्जन मैदानमा



माघ १९, काठमाण्डौ । सात प्रदेशमध्ये चारवटामा सरकार बनाउन लागेको नेकपा एमालेभित्र विवाद उत्कर्षमा पुगेको छ । प्रदेश नम्बर पाँचमा शंकर पोखरेललाई चुनौति दिने कोही नभए पनि बाँकी तीन प्रदेशमा मुख्यमन्त्रीका लागि एकभन्दा बढि सासंदले दाबी गरेपछि विवाद देखिएको हो ।

प्रदेश नम्वर १ को मुख्यमन्त्री कस्लाई बनाउने भन्ने विषयमा एमालेमा विशेषगरी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच विवाद चर्चिएको छ । ओली पक्षधर शेरधन राईले आफू नै प्रदेश १ को भावी मुख्यमन्त्री भन्दै प्रचार गर्दै आएका छन् भने माधव नेपाल पक्षले भने जीवन घिमिरेलाई मुख्यमन्त्री नबनाए ओलीलाई सहयोग नगर्ने चेतावनी दिँदै आएका छन् ।

सोही प्रदेशमा पार्टीका सचिव तथा प्रदेश नम्बर एकका संयोजनक भिम आचार्यले पनि दाबी गरेका छन् । उनले अध्यक्ष केपी ओली निकट मानिने राईलाई चुनौति दिएका हुन् ।

आचार्यले पार्टी हेडक्वार्टरले आफूलाई नै मूख्यमन्त्रीका रुपमा प्रस्तुत गर्ने दाबी गरिरहेका छन् । राइले पनि सोही दाबी गरिरहेका छन् ।
दुवै दाबेदारले रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै आफ्नो पक्षमा सहमति नभए संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने र विजयी हुने दाबी गरेका छन् ।

प्रदेश नम्बर तीनमा पनि अवस्था यस्तै छ । पोलिटव्यूरो सदस्य राजेन्द्र पाण्डे र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यबिच सहमति हुन सकेको छैन । प्रदेश नम्बर ३ को प्रदेशसभामा निर्वाचित दुवै जनाले आफू नै यस प्रदेशको मुख्यमन्त्रीको दाबेदार भएको दाबी गरेका छन् ।

पाण्डे र शाक्य दुवै वरिष्ठ नेता नेपाल पक्षका भएकाले समस्या झन बढेको छ । यसैको फाइदा उठाउँदै अर्का नेता केशव स्थापितले आफूलाई ओली पक्षधर भएको प्रचार गर्दै मुख्यमन्त्रीमा दाबी गरेका छन् । यही प्रदेशबाट पशुपति चौलागाईलाई पनि दाबेदारको रुपमा हेरिएको छ ।
प्रदेश नम्बर चारमा पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङको दाबी छ ।

४ मा अध्यक्ष ओली खेमाकै नेताहरु किरण र पृथ्वी सुब्बा नै रेसमा देखिएका हुन् । ओलीले एक जनालाई वाकओभर गर्न सुझाएपनि दुवै नेता यो मान्ने पक्षमा छैनन् । उनीहरुले जसरी पनि मुख्यमन्त्रीमा आफू ब्याक नहुने सन्देश पार्टी नेतृत्वलाई दिईसकेका छन् । यता नेतृत्वले भने आलोपालो गरेर चलाउन दुवै नेतालाई सुझाएको छ । उम्मेद्धवारका दाबेदारलेपनि आलोपालो गर्न सक्ने संकेत दिएको छन् ।

प्रदेश नम्बर ५ मा भने सचिव शंकर पोखरेल एक्ला उम्मेद्धवार हुन् । उनी सर्वसम्मतीले नै उम्मेद्धवार बनेका छन् । उनी संसदीय दलको नेता बनिसकेका छन् । त्यसैले यो प्रदेशमा कुनै विवाद छैन् ।

तर माथि चर्चा गरिएका बाँकी प्रदेशमा भने मुख्यमन्त्री बनाउनको लागि पार्टी नेतृत्वलाई अहिले फलामको चिउरा चपाएसरह भएको कतिपय एमाले शीर्ष नेताहरुले नै चर्चा गर्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्