Logo

अमेरिका मेक्सिको द्धिपक्षीय सुरक्षा योजनामा सहमत



मेक्सिको सिटी, २० माघ : संयुक्त राज्य अमेरिका र मेक्सिको द्धिपक्षीय सुरक्षा योजनालाई संयुक्त रुपमा अघि बढाउन सहमत भएका छन् ।

हाल मेक्सिकोको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र मेक्सिकोका विदेशमन्त्री लुइस विदेगारीबीच सो सहमति भएको हो ।

शुक्रबार मेक्सिको पुग्नुभएका अमेरिकी विदेशमन्त्री टिलर्सलनले साँझ मेक्सिकोका विदेशमन्त्री लुईससँग द्धिपक्षीय भेटवार्ता गर्नुभएको थियो ।

सो भेटका क्रममा उहाँहरुबीच विशेषगरी दुई देशको सुरक्षा चासोका विषयमा बढी कुराकानी भएको थियो । यी दुई देशको सिमाना जोडिएकोले सुरक्षा चासोमा बढी वार्ता केन्द्रित हुनु स्वभाविकै हो ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनका समयमा पनि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस समयमा आफ्नो चुनावी एजेण्डाका रुपमा अमेरिकाको मेक्सिकोसँगको सीमाक्षेत्रमा पर्खाल लगाउने कुरालाई अघि सार्नुभएको थियो ।

उहाँ राष्ट्रपति भएको पनि एक वर्ष दिन पूरा भएको छ । तर सो पर्खाल लगाउने भन्ने एजेण्डाको सुरुवात पनि हुन पाएको छैन । त्यसो त उहाँ राष्ट्रपति भएपछि पनि पहिलो पटक मेक्सिकोमा यो उच्चस्तरको भ्रमण भएको छ ।

यस भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री टिलर्सनले नै दुई देशबीचको एकीकृत सुरक्षा योजनाको कुरा उठाउनुभएको थियो ।

त्यस योजनालाई द्धिपक्षीय रुपमा अघि बढाइने र एकसाथ कार्यान्वयनमा ल्याइने सहमति सो वार्तामा भएको बताइएको छ ।

त्यस भेटका क्रममा उहाँहरुबीच अन्य द्धिपक्षीय हित र मध्य अमेरिकी देश मेक्सिकोको विकासको बारेमा पनि आवश्यक मात्रामा कुराकानी भएको बताइएको छ ।

अमेरिकी विदेशमन्त्री टिलर्सन विभिन्न पाँचवटा ल्याटिन अमेरिकी देशको भ्रमणको सिलसिलामा पहिलो देशका रुपमा शुक्रबार मेक्सिको पुग्नुभएको हो ।(रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्