Logo

इङ्गलिस प्रिमियर लिग : चेल्सीको अप्रत्यासित हार



काठमाडौं, २३ माघ । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले अप्रत्यासित हार बेहोरेको छ । गएराति भएको खेलमा चेल्सीलाई वाट्फोर्डले ४-१ ले हराएको हो ।

खेलमा घरेलु टोली वाट्फोर्डलाई विजयी गराउन ट्रोए डिनी, यानमत, जेरार्ड डेलोफु र रोबर्टो परेराले १-१ गोल गरे । वाट्फोर्डले खेलको अन्तिम ६ मिनेटमा तीन गोल गरेको थियो । चेल्सीका लागि एडिन हाजार्डले एक सान्वना गोल गरेका थिए ।

खेलको ३० औं मिनेटमै चेल्सीका मिडफिल्डर बाकायोको दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि चेल्सी १० जनामा समेटिएको थियो । गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा २६ खेलबाट ६९ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ ।

५६ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ भने ५१ अंकको साथ लिभरपुल तेस्रो तथा ५० अंक जोडेको चेल्सी चौथो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्