Logo

चलचित्र ‘कृ’ प्रदर्शनमा, २ वर्षपछि हलमा अनमोल



काठमाडौं, २६ माघ । यस वर्षको बहुप्रतिक्षीत चलचित्र ‘कृ’ देशैभर प्रदर्शनमा आएको छ । यो चलचित्रसँग जुध्न कुनै पनि नेपाली फिल्म हलमा छैनन् । तर, मल्टिप्लेक्समा भने बलिउडस्टार अक्षय कुमार अभिनीत फिल्म ‘प्याडम्यान’ रिलिज भएको छ । ‘प्याडम्यान’ले गर्दा ‘कृ’ ले मल्टिप्लेक्समा अपेक्षा अनुसार शो पाएको छैन । तर, सयको आसपासमा सिंगल हल पाएको छ । यसअघि रिलिज भएका अनमोलका चलचित्रले सिंगलभन्दा मल्टिप्लेक्समा राम्रो दर्शक भित्राएका थिए ।

यस पटक अनमोल स्वयंम ‘यति यति पानी’ बोलको गीतले पनि सिंगल थिएटरमा दर्शकको चाप हुनेमा विश्वस्त छन् । लगातार चार फिल्ममा रोमान्टिक हिरोको रुपमा देखिएका अनमोल यसपटक विशेषतः एक्सन अवतारमा प्रस्तुत भएका छन् । फिल्मको शुक्रवार ८० प्रतिशतमाथि अकुपेन्सी रहने निर्माण पक्ष र वितरकको अनुमान छ । मंगलवार साँझ बाटै मल्टिप्लेक्समा चलचित्रको बुकिङ खुल्ला गरिएको थियो ।

अनमोलको क्रेज र फिल्मको हाइपका कारण ‘कृ’ को इनिसियल व्यापार आक्रामक हुने धेरैको अनुमान छ । फिल्मलाई चलचित्रकर्मीहरुले सामाजिक सञ्जालमार्फत सफलताको शुभकामना दिइरहेका छन् । हास्यकलाकार दीपकराज गिरीले अनमोललाई ‘रियल सुपरस्टार’ भन्दै फिल्मको सफलताको शुभकामना दिए । यो फिल्ममा अनमोलले नव नायिका अदिती बुढाथोकीसँग स्क्रिन शेयर गरेका छन् । सुरेन्द्र पौडेल चलचित्रका निर्देशक हुन् । बदलाको कथा बोल्ने ‘कृ’ मा सुवास गिरी र भूवन केसीको लगानी छ ।

युट्युबमा अपलोड गरिएको लगभग डेढ महिनामा चलचित्रको ट्रेलरको भ्युअर्स २२ लाखभन्दा माथि पुग्नुले पनि युवा दर्शकहरू यो फिल्म हेर्न लालयित रहेको बुझ्न सकिन्छ । यस्तै, यति यति पानीु गीतलाई १ महिनामा ६४ लाख र मैले जानी नजानी गीतलाई ३ दिनमा ११ लाख बढी भ्युअर्स प्राप्त छ । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन् । ‘कृ’ मा अनमोल केसी, अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।

 



प्रतिक्रिया दिनुहोस्