समानुपातिकको मत सार्वजनिक : एमालेले ३१ लाख मत पाउँदा हाम्रो पार्टीको ४२६


२६ माघ, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक पद्धतितर्फ दलहरुले पाएको सिट संख्या तोकेको छ ।
संसदमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गराउनका लागि समानुपातिकबाट ८४ जना महिला अनिवार्य समावेश गर्नुपर्ने भएको छ ।

तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलले मात्र समानुपातिक सिट पाउने संवैधानिक व्यवस्था छ । त्यस अनुसार समानुपातिकको ११० सिटमध्ये एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राजपा र फोरमले ६–६ सिट पाएका छन् ।

आयोगका अनुसार एमालेले ३७, कांग्रेसले २०, माओवादीले १६, राजपाले ६ र फोरमले ५ महिला प्रतिनिधित्व सुनिश्चित गर्नु पर्नेछ । यसो गर्दा एमालेले चार, कांग्रेसले २०, माओवादी र फोरमले एक–एक पुरुषलाई मात्र समानुपातिक सांसद बनाउन सक्नेछन् । राजपाले भने सबै महिला मात्र पठाउनुपर्नेछ ।

संविधानको धारा ८४ को उपधारा ८ मा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलबाट निर्वा्चित कूल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था छ ।

प्रत्यक्ष र राष्ट्रियसभा सदस्यहरुबाट त्यो पूरा नभए समानुपातिकबाट पूर्ति गर्नुपर्छ ।
आयोगले माघ २९ गतेभित्र विजयी गरिने सांसदहरुको नाम बुझाउन दलहरुलाई आग्रह गरेको छ ।

आयोगले आफूले पाएको सिटमा कति महिला प्रतिनिधित्व अनिवार्य हुनुपर्छ भन्नेसमेत तोकेर दलहरुलाई पत्र पठाएको छ ।
प्रतिनिधिसभाको समानुपातिकमा भाग लिएका ४९ दलमध्ये ५ दलले मात्र सिट प्राप्त गरेका छन् ।

आयोगका अनुसार सबैभन्दा धेरै मत एमालेले ३१ लाख ७३ हजार ४९४ अर्थात ३३.२५ प्रतिशत पाएको छ भने सबैभन्दा कम हाम्रो पार्टीले ४२६ मत प्राप्त गरेको छ ।