Logo

महानायक हमाल र पत्रकार धमलाद्धारा ‘५घण्टा १४ मिनेट २३ सेकेण्ड’ लामो गीतको भिडियो सार्वजनिक



काठमाडौं, २६ माघ । गिनीज बुक अफ वल्र्ड रेकर्ड राख्ने उद्देश्यले तयार पारिएको विश्वकै पहिलो ‘५ घण्टा १४ मिनेट २३ सेकेण्ड’ लामो भिडियो सार्वजनिक गरिएको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा धिताल फिल्मस् प्रा.लीले एक कार्यक्रमको आयोजना गरेर ‘दि अर्थ’ गीति एल्बममा समाहित ‘आई लभ यू’ बोलको गीत सार्वजनिक गरेको हो ।

महानायक राजेश हमाल र पत्रकार ऋषि धमलाले उक्त गीतको भिडियो संयुक्त रुपमा बिमोचन गरेका हुन । महानायक हमाललेउक्त सार्वजनिक गीतलाई पृथक र विश्वकै धेरै लामो गीत भनेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महानायक हमालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विशेष योगदान दिएका महत्वपूर्ण व्यक्तिहरुको नामहरु समावेश गरेर तयार पारिएको गीतलाई ‘आई लभ यू’ वाक्यद्धारा सम्बोधन गर्नुले राष्ट्र र अन्र्तराष्ट्रियबीचकोे भावनात्मक एकताको संकेत गरेको दाबी गरेका छन् ।

महानायक हमालले भने,‘म भित्रै मनदेखि भन्छु, यो गीतले विश्व रेकर्ड कायम गर्छ, विश्व रेकर्ड कायम गरेको खण्डमा हाम्रो देशको नाम र स्वाभिमान उँचो हुने पक्का छ, यस्तो महत्वपूर्ण कार्यको लागि निर्माण पक्ष सबैभन्दा बढी धन्यवादको पात्र हुनुहुन्छ।’

त्यस्तै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले गीतको प्रगतीको लागि शुभकामना दिँदै गीतलाई विश्व रेकर्ड राख्नको लागि आफूले जस्तोसुकै साथ–सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले भने,‘लक्षुप्रकाश मल्ल सफल ब्यक्ति हुनुहुन्छ, उहाँले गीतमार्फत अन्तर्राष्ट्रिय ‘केमिस्ट्रिक’ जोड्नु भएकोमा धन्यवाद छ, म यस कार्यको खुलेर प्रसंशा गर्छु।’ धमलाले महानायक हमाललाई राष्ट्रिय सभामा मनोनित गर्नुपर्नेमा जोड दिए ।

उनले भने,‘उहाँलाई राष्ट्रिय सभामा ल्याउनुपर्छ भनेर म लागिरहेको छु, उहाँ साझा व्यक्तित्व हो, उहाँको योगदानलाई राज्यले कदर गर्नुपर्छ।’ गीतका शब्द, संगीतकार तथा गायकार लक्षुप्रकाश मल्लले नेपाली कलाकाहरुको ईतिहाँस बदल्नको लागि यो जोखिम मोलेको बताए ।

उनले भने,‘हाम्रो एउटै चाहना नेपाली कलाकारहरुले मेहनत गर्छन्, काम गर्न र लगानी गर्न सक्छन् भन्ने उदाहरण पनि हो, विगत २ वर्षदेखि हामीले धेरै प्रकारका असहजतालाई थाँती राख्दै यो कार्य सम्पन्न गरेका छौं, अब हाम्रो लक्ष्य यस गीतलाई विश्व रेकर्डको सूचिमा राख्नु हो, यसमा मिडियाको ठुलो भूमिका रहनेछ, यस अवसरमा साथ दिने सबैप्रति हार्दिक कृतज्ञ छु ।’

नेपाली गीत–संगीतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम उँचो पार्ने उद्देश्यका साथ गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन तयार पारिएको गीत बन्नको लागि धेरै पक्षको प्रत्यक्ष भूमिका रहेको छ ।

मल्ललाई शब्दमा सुमन थापाले साथ दिएका छन् । उक्त गीतको भिडियो निर्देशन होम धितालले गरेका हुन । दृश्य सम्पादन रोशन धितालले गरेका हुन भने छायांकन करन चैसिरले गरेका हुन ।

धिताल फिल्मस् प्रा.लीका अध्यक्ष होम धितालले उक्त गीत विश्व रेकर्डकोृ सूचिमा कैद भएको खण्डमा नेपाल र नेपालीको शीर उच्च रहने विश्वास दिलाए ।

उनले भने,‘नेपाली गीत–संगीतको क्षेत्र खस्किँदो क्रममा रहेको बेला हामीले यति लामो गीत निर्माण गर्ने काममा हात हाल्यौ, दुई वर्षसम्म यस गीतको बारेमा निरन्तर संघर्ष गर्नुपर्यो, लगानीको कुरा गर्नुपर्दा ५० लाख बढि खर्च भएको छ, यो गीतलाई हामीले विश्व रेकर्डको सूचिमा दर्ज गराउनु छ, यति भयो भने हामीले गरेको लगानी र मेहनेतले न्याय पाउनेछ ।’

धिताल कै सभापतित्वमा सम्पन्न कार्यक्रममा मिलन श्रेष्ठ, अशोक धिताल, रेशम सापकोटा लगायतका अन्य सर्जकहरुले पनि गीतको शुभकामना दिँदै आफ्ना कुराहरु राखेका थिए ।

धिताल फिल्मस प्रा.लीले बजार व्यवस्थापन गरेको गीतको सार्वजनिक कार्यक्रममा विभिन्न विद्याका एकदर्जन बढी सर्जकलाई सम्मान गरिएको थियो । पत्रकार तथा सञ्चारकर्मी राजकुमार रायमाझीले कार्यक्रम सञ्चालन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्