राष्ट्रकवि घिमिरेलाई मानार्थ सहायक रथीको पदवी, यी हुन आजका मन्त्रिपरिषद बैठकको निर्णयहरु


काठमाडौं, २६ माघ । सरकारले राष्ट्रकवि मावधप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको पदवी दिएको छ।

शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रकवि घिमिरेलाई मानार्थ सहायक रथी बनाउने निर्णय गरेको हो। बैठकले राष्ट्रियसभामा सरकारले सिफारिस गर्ने तीन जनाको नाम टुंग्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ।

कम्तिमा एक जना महिलासहित तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। प्रधानमन्त्रीले शनिबार बिहानसम्म तीनजनाको नाम राष्ट्रपति कार्यालय पठाउने सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए।

बैठकले बूढीगण्डकी आयोजना निर्माण गर्न राष्ट्रिय योजना आयोगले तयार पारेको लगानी सम्बन्धी प्रतिवेदन पारित गरेको छ । त्यस्तै आजको बैठकले रामबहादुर बम्जमले तपस्या गरेको पर्साको जंगललाई धार्मिक वन बनाउने पनि निर्णय गरेकोछ ।