Logo

कमजोर ब्याटिङका कारण नेपाल ओमानसँग पराजित, आइतवार युएईसँग खेल्ने



माघ २६, काठमाण्डौ । आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को दोस्रो खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १३९ रनको सामान्य लक्ष्य ओमानले ३५.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।

यता नेपालको भने यो पहिलो हार हो । नेपालले बिहीवार पहिलो खेलमा घरेलु टोली नामिबियामाथि १ विकेटको जित हासिल गरेको थियो भने ओमान क्यानडासँग ८ विकेटले पराजित भएको थियो ।

ओमानलाई पहिलो जित दिलाउने क्रममा कलिमुल्लाहले बलिङमा ४ विकेट लिदा अकिव इल्यासले ब्याटिङमा सर्वाधिक ४६ रनको योगदान गरे। यस्तै वैभव वाटेगाओनकरले नटआउट ३७ रनको योगदान गरे ।

विन्डहोकस्थित अफिज पार्कमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४६ ओभरमा १३८ रनमै अलआउट भएको थियो ।

पुन एकपटक नेपालको ओपनिङ राम्रो हुन सकेन । नेपाललले ३८ रन बनाउदा दुवै ओपनर ज्ञानेन्द्र मल्ल (७) र दिलिप नाथ (१९) लाई गुमाइसकेको थियो ।

शरद भेषावरकले सर्वा्धिक २२ रन बनाएको नेपाली इनिङ्समा दिपेन्द्र सिंह ऐरिले २०, कप्तान पारस खड्काले १७ तथा रोहित पौडेलले १४ रन बनाए । सोमपाल कामी १७ रनमा नटआउट रहे ।

नेपाललाई अलआउट गर्न ओमानका कलिमुल्लाहले सर्वा्धिक ४ तथा बिलाल खानले २ विकेट लिए ।

१३९ रनको लक्ष्य पछ्याएको ओमानका ओपनर स्वप्निल खाड्यलाई सोमपाल कामीले तेस्रो ओभरमा १ रनमा आउट गर्दै नेपाललाई सुरुवाती सफलता दिलाएका थिए । तर त्यसपछि अकिव इल्यसले दोस्रो विकेटका लागि जतिन्दर सिंहसँग ३५ तथा तेस्रो विकेटका लागि वैभव वाटेगाओनकरसँग ४६ रनको साझेदारी गर्दै ओमानको जितको आधार तय गरेका थिए ।

४६ रनमा बसन्त रेग्मीको बलमा बोल्ड हुनुअघि अकिवले ५३ बल खेल्दै ५ चौका समेत प्रहार गरेका थिए । जतिन्दर सिंहले २४ रन जोडे ।

यस्तै वाटेगाओनकरले नटआउट ३७ रन बनाए भने कप्तान सुल्तान अहेमद १६ रनमा नटआउट रहे ।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए । सोमपाल कामी र बसन्त रेग्मीले १–१ विकेट लिए ।

नेपालले अब आइतवार युएईसँग खेल्नेछ भने ओमानले नामिबियासँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्