Logo

मिथिलाञ्चलमा महाशिवराशि व्रत फागुन २ मा



जनकपुरधाम २७ माघ(रासस): मिथिलाञ्चलमा महाशिवरात्रि व्रत आगामी फागुन २ गते गरिने भएको छ ।  मिथिलाञ्चलका पण्डितहरूले फागुन १ गते महाशिवरात्रिमा महाशिवरात्रि व्रत गर्न नमिल्ने बताउनुभएको छ । पं गणेश झाका अनुसार मङ्गलबार राति १०ः३० बजेपछि चतुर्दशी पर्ने भएकाले सो दिन महाशिवरात्रि व्रतका लागि उपयुक्त छैन ।

सूचना तथा सञ्चार मन्त्रालय र सूचना विभागद्वारा प्रकाशित पात्रोमा फागुन १ गते त्रयोदशी लेखिए पनि सो दिन महाशिवरात्रि भनी सार्वजनिक बिदा दिइएको छ । पं झाका अनुसार फागुन १ गते राति १०ः ३० सम्म त्रयोदशी रहेका कारण सो दिन महाशिवरात्रि व्रत गर्न सकिँदैन ।

विश्वविद्यालय पञ्चाङ्गमा फागुन २ गते रातिसम्म चतुर्दशी रहेको भनी उल्लेख गरिएको छ । मिथिलाञ्चलमा सो पात्रोअनुसार नै व्रत, पर्व र संस्कारका कार्य गर्ने प्रचलन छ । फागुन कृष्णपक्षको चतुर्दशी तिथिका दिन महाशिवरात्रि व्रत गरिने चलन छ ।

चतुर्दशीका दिन भगवान् शिवको भगवती गौरीसित शुभविवाह भएको, रावणेश्वर वैद्यनाथ शिवलिङ्गको स्थापना भएको तथा शिवले समुद्रमन्थनबाट उत्पन्न विषलाई पान गरेका थिए भन्ने धारणा छ । भगवान् शिवको लिङ्गस्वरूपको आविर्भाव पनि यसै दिन भएको मान्यता छ । रासस



प्रतिक्रिया दिनुहोस्