Logo

प्रदेशस्तरीय कराँते प्रतियोगिता आइतबार



बागलुङ, २७ माघ (रासस) : काठेखोला गाउँपालिका–५ बिहुँकोटमा ४ नं प्रदेशस्तरीय कराँते प्रतियोगिता आइतबारदेखि हुँदैछ ।

बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रको आयोजनामा तीन दिनसम्म चल्ने प्रतियोगितामा ४ नं प्रदेशका मनाङ र मुस्ताङबाहेक नौ जिल्लाबाट २६० खेलाडी सहभागी हुनेछन् ।

पहिलोपटक हुन लागेको प्रतियोगितामा प्रत्येक जिल्लाबाट १८ खेलाडी र दुई अधिकृतको सहभागिता रहने जनाइएको छ । खेलाडीले २३ –२३ स्वर्ण र रजत तथा ४६ कास्य पदक गरी कूल ९२ पदकका लागि प्रतिष्पर्धा गर्ने अध्यक्ष कृष्ण कँडेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा २५ देखि ६० किलो तौल समूहका महिला आठ र पुरुष आठ गरी १६ र एकल तथा सामूहिक काँताका चार प्रतिष्पर्धा गरी कूल २० खेल खेलाइनेछ । “स्थानीयस्तरबाटै सहयोग जुटाएर प्रतियोगिता गर्न लागेका हौँ”, केन्द्रका अध्यक्ष कँडेलले भन्नुभयो “खेलकुदको विकास र खेलाडी उत्पादनमा प्रतियोगिताले सघाउने अपेक्षा लिएका छौँ ।”

गाउँमा राखिने प्रतियोगिताले खेल पर्यटनलाई पनि बढावा दिने देखिएको छ । प्रतियोगिता सञ्चालनका लागि बिहुँकोट सितोरियो कराँते डोजोले प्राविधिक सहयोग उपलब्ध गराउने छ ।



प्रतिक्रिया दिनुहोस्