Logo

अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु : एपिएफ र न्यू डायमण्डको विजयी



चितवन, माघ २७–चितवनको पर्यटकीय नगरी पटिहानीमा आज (शनिबार)देखि प्रथम मेयर कप अन्तराष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पूर्व प्रधानमन्त्री तथा चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभा साँसद पुष्पकमल दाहाल प्रचण्डले समुद्घाटन गर्नुभयो ।

प्रतियोगिता अन्तरगत पहिलो दिन शिवम न्यू डायमण्ड एकेडेमी र विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लव विजयी भएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंको शिवम न्यू डायमण्ड एकेडेमीले भारतको हरियाणा पुलिसको महिला टिमलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । शिवम न्यू डायमण्डले पहिलो सेट २५–२०, दोस्रोमा २५–७ र तेस्रो सेटमा २५–१५ को जित हात पा¥यो ।

यस्तै आजै भएको दोस्रो खेलमा विभागीय टिम एपीएफले आईफ्याट बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । एपिएफले पहिलो सेटमा २५–६, दोस्रोमा २५–७ र तेस्रो सेटमा २५–७ को जित हात पार्‍यो । प्रतियोगितामा सहभागी ७ टिमलाई २ समूहमा विभाजन गरिएको छ ।

भरतपुर–२२ पटिहानीको आधारभूत विद्यालय धनौजीको खेलमैदानमा भइरहेको प्रतियोगिता आगामी फागुन १ गते महाशिवरात्रिको दिनसम्म सञ्चालन गरिने प्रचारप्रसार समिति संयोजक रामहरि सेढाईंले जानकारी दिनुभयो ।

प्रतियोगिता हेर्नलाई अस्थायी प्याराफिटको व्यवस्था गरिएको छ । त्यसमा बस्नका लागि ५०, १०० र २०० का टिकट व्यवस्था गरिएका छन् ।
प्रतियोगिताका विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना हुने टिमले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजक तथा भरतपुर महानगरपालिका २२ नम्बर वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिनुभयो ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने अन्य विभिन्न चार विद्यामा उत्कृष्ट हुने खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइने छ ।



प्रतिक्रिया दिनुहोस्