Logo

नौ महिने प्रधानमन्त्री देउवाले आज राजिनामा दिदै



फागुन ३, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गरेर राजिनामा दिने भएका छन् । बिहान ९ बजे मन्त्रिपरिषद् बैठकपछि राष्ट्रका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले राजीनामा दिन लागेका हुन् ।

प्रतिनिधिसभाको औपचारिक निर्वाचन परिणाम आइसकेपछि उनले राजीनामाको निर्णय लिएका हुन् ।
बुधबार साँझ नै सम्वोधन र राजीनामा आउने बताइए पनि अन्तिम समयमा रोकिएको थियो ।

प्रतिनिधिसभाको अन्तिम मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिलाई बुधबार साँझ नै हस्तान्तरण गरेको छ । मतपरिणाम प्राप्त भएपछि नयाँ सरकार गठनका लागि कुनै संवैधानिक बाधा नभए पनि प्रधानमन्त्रीको राजीनामा आउन लागेको हो । प्रतिनिधिसभा निर्वाचन घोषणापछि सरकार स्वतः कामचलाउ भइसकेको थियो ।

माओवादी केन्द्रको समर्थनमा गत जेठ २३ गते देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । करिव ९ महिना कार्यकाल बिताएका देउवा चौथोपटक प्रधानमन्त्री बनेका थिए । उनको कार्यकालमा दोस्रो र तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएको थियो ।

यस्तै, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन र राष्ट्रियसभा निर्वाचन पनि देउवाको कार्यकालमा सम्पन्न भएको थियो ।

संविधान कार्यान्वयनका लागि भएका पछिल्ला निर्वाचनबाट राजनीतिक उपलव्धि हासिल गरेको सरकार निर्वाचनपछि भएका केही निर्णयमा भने आलोचित बनेको छ । राज्यकोषमाथि आर्थिक व्यायभार थप बढाउने देउवा नेतृत्वको मन्त्रिपरिषद्को निर्णयमाथि सर्वत्र आलोचना भएका छन् ।



प्रतिक्रिया दिनुहोस्