Logo

प्रधानमन्त्री आलोपालो भए पनि सरकारले साझा घोषणापत्रअनुसार काम गर्छ : सुवास नेम्वाङ



नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच पार्टी एकता प्रक्रिया अन्तिम चरणम पुगेको चर्चा छ । आजै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने र लगत्तै पार्टी एकताको निष्कर्षमा पुग्ने बताइएको छ । सरकार गठन र पार्टी एकता प्रक्रियाका बारेमा ऋषि धमलाले एमाले नेता सुवास नेम्वाङसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

केपी ओली एमालेको संसदीय दलेको हैसियतले प्रधानमन्त्री बन्ने हो कि एकीकृत पार्टीको नेताको हैसियतले ?
संविधानको व्यवस्थाअनुसार बहुमत प्राप्त दलको नेता प्रधानमन्त्री बन्ने हो । केही सिट नपुग्दा एमालेका नेता ओली बहुमतप्राप्त दलका नेता बन्न सक्नुभएन । दोस्रो अवस्था भनेको दुई वा दुईभन्दा बढि दलको समर्थनबाट बहुमतप्राप्त गरेर प्रधानमन्त्री बन्ने हो । यही बाटोमा हामी अगाडि बढिरहेका छौँ । एमाले संसदीय दलको नेताभन्दा पनि संसदीय दलका एक सदस्य एमाले र माओवादीको समर्थन प्राप्त ओली प्रधानमन्त्री बन्नुहुन्छ ।

एकीकृत पार्टीको नेताको हैसियतमा ओलीलाई किन प्रधानमन्त्री बनाउन सक्नुभएन ?
अहिले वामपन्थी सरकार बन्ने प्रक्रियामा गइरहेको छ । पार्टी एक भएर किन सरकार नबनाउने भन्ने प्रश्नको सन्दर्भमा हामी त्यसतर्फ नै अगाडि बढिरहेका छौँ । तर एकता प्रक्रिया निष्कर्षमा पुगेको छैन ।

नयाँ सरकार बन्नका लागि संसद बैठक बस्नुपर्दैन ?
यो कुरा छेउछेउमा कहीँकतै उठेको छ । तर हाम्रो संविधानको धारा ८८ मा कुनै पनि सदनको बैठक बस्दा सासंदले सपथग्रहण गर्नुपर्छ । त्यसैले सरकार बनाउनकै लागि सांसदले सपथग्रहण बनाउनैपर्छ भन्ने छैन ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड दुवै अध्यक्ष र दुवैजना आलोपालो प्रधानमन्त्री बन्दा अस्थिरता हुँदैन ?
हामीले स्थिरताका लागि नै वामपन्थी गठबन्धन बनाएर चुनाव लडेका हौँ । चुनावमा साझा घोषणापत्र बनाएर जनतामाझ गयौँ । जनताले अनुमोदन गरे । सोही घोषणापत्रअनुसार पाँच वर्ष देश संचालन गर्छौँ । अस्थिरता हुनेखालका काम कारबाही हाम्रोतर्फबाट हुँदैन ।

आलोपालो प्रधानमन्त्री बन्ने प्रणालीमा किन जानुभयो ? यसले त जनतामाथि कुठाराघात भएन ?
यो राजनीतिक समझदारीका कुरा हो । तर हामीले गर्ने काम कारबाहीबाट कुनैपनि मूल्य र मान्यता भत्कन नदिनेतर्फ हामी जागरुक छौँ । पार्टी एकता भएपछि एउटै पार्टीको जनताद्धारा अनुमोदन भएको घोषणापत्र अनुसार सरकारले काम गर्छ । यसो गर्दा कुनै पनि अप्ठ्यारो स्थिती आउँदैन ।

त्यसोभए आलोपालो प्रणालीले जनतामा अन्यौलता ल्याउँदैन ?
कुनै पनि कामले हामी देशमा अन्यौलता हुन दिदैनौँ ।

केपी ओली नै पाँच वर्ष प्रधानमन्त्री बनेको भए त अझै राम्रो हुन्थ्यो नि ?
तपाईको शुभकामना जनताको बिचमा पुग्दा भोली त्यस्तै पनि हुन सक्छ । एकीकृत पार्टीले भोली यस्तै निर्णय गर्न पनि सक्छ ।

एकीकृत पार्टीको अध्यक्ष को बन्छ ?
दुवै पार्टीका शीर्ष नेताहरु ओली र प्रचण्डको सहमति र निर्णयअनुसार सबै प्रक्रिया अगाडि बढ्छ । यो कुरा जनताकाचिमा केही दिनमा प्रष्ट हुन्छ ।

ओली र प्रचण्ड दुवैजना अध्यक्ष बन्ने कुरा आएको छ । दुवैजना अध्यक्ष बन्दा राम्रो हुन्छ र ?
यो विषयमा अहिले ने निष्कर्षका पुगिएको छैन । सबै कुरा संयोजन समितिले टुङ्ग्याउँछ । समितिको बैठक जारी छ । एउटा निष्कर्षमा पूग्ने प्रयास जारी छ । अहिले नै के हुन्छ भनेर भन्न सकिदैन ।

एकता प्रक्रिया कहिले टुङ्गिने सम्भावना छ ?
जनतालाई विश्वस्त बनाउने गरी केही आधारहरु बनेका छन् । त्यसैले एकता प्रक्रिया आजै, भोली नै टुङ्गिन सक्छ । अब हामी पछाडि फर्किने अवस्थामा छैनौँ ।

समस्या र चुनौति त अझै बाँकी छन् नि ?
समस्या र चुनौति छन् । यसमा विवादै छैन । तर त्यसलाई हामी पार लगाउँछौँ ।

नीति र नेतृत्वमा नै विवाद हो ?
अलिअलि छलफल छ । यसलाई विवाद नभनौँ । मैले विवाद छ भन्नासाथ त्यसको अर्को अर्थ लगाउने चलन छ । म के भन्छु त भन्दा चुनौतिलाई सफलतापूर्वक पार गर्छौँ ।

एमालेभित्रैबाट प्रचण्ड र ओलीको मात्र पदीय व्यवस्थापन गरेर हुँदैन, अरु नेताहरुको पनि गर्नुपर्छ भन्ने आवाज उठेको छ नि ?
दुई ठूला पार्टीहरु एक भएर देश विकासमा लाग्दा सिङ्गो देशको व्यवस्थापन हुन्छ । देशलाई व्यवस्थापन गर्छौँ भनेर दाबी गरिरहेको बेला पार्टीभित्रको नेताहरु व्यवस्थापन कुन ठूलो कुरा हो र ? पार्टी व्यवस्थित भयो भने त्यो नै ऐतिहासिक उपलब्धि हो ।

पानीबिनाको माछा र पदबिनाको नेताको के अर्थ ?
यो कुरा हाम्रा नेताहरुले भन्छन् भन्नेमा मलाई विश्वास छैन । देशलाई स्थिरता दिन सकियो भने सबै नेताहरु व्यवस्थापन भएजस्तै हो ।

चुनौति केके छन् त ?
तपाई आफैले भन्नुभयो नि, विचार र संगठनको मामलालगायत धेरै विषयमा विवाद छन् । हामीबिचमा अझै पनि टुङ्गोमा नपुगेको अवस्था हुन सक्छ । तर आधार तयार भयो, अब एकता हुन्छ । एकता घोषणालाई धेरै पर लाँदैनौँ । तर ओली प्रधानमन्त्री बन्नुभन्दा अगाडि एकता घोषणा गर्ने समय छैन ।

नीति र नेतृत्वका विषयमा कार्यदल बनाउने कुरा थियो । अहिलेसम्म किन बनेन ?
कतिपय मसिना कुराहरु मिलाउनुपर्ने हुन्छ । ति कुरा संयोजन समिति वा अध्यक्षहरुबाट सम्भव नहुन सक्छ । त्यसैले प्रक्रियालाई टुङ्गोमा पुर्याउन आवश्यक पर्यो भने कार्यदल बन्न सक्छ ।

राष्ट्रपति झलनाथ खनाल हो कि तपाई ?
म मेरो व्यक्तिगत कुरा कहिल्यै पनि गर्दिन । संविधानसभाबाट सफलतापूर्वक संविधान बनाएर आएको व्यक्ति हुँ । मेरो बारेमा मेरै पार्टीले सोच्ने कुरा हो । अरु पार्टीहरुले पनि सोच्लान । मेरो व्यक्तिगत रुपमा कुनैपनि आग्रह छैन ।

तपाई राष्ट्रपतिका लागि योग्य व्यक्ति त हो नि ?
योग्यता हुनु एउटा कुरा हो । नियुक्त हुनु, निर्वाचित हुनु अर्को कुरा हो । मेरो बारेमा मेरै पार्टीले सोच्छ । म केही भन्दिन ।

प्रतिनिधीसभाको सभामुख बन्ने सम्भावना कति छ ?
मैले भनिहालेँ, मेरो बारेमा म आफैँ केही भन्दिन । मेरो कुनै पनि ईच्छा छैन । तर म पहिला सभामुख भइसकेको मान्छे, अब मन्त्री खान जान्न । योभन्दा बाहेक मेरो अरु कुनै आग्रह छैन । पार्टीले जे निर्णय गर्छ, त्यही मेरो लागि मान्य हुन्छ । मलाई कुन काममा लगाउँदा देश र जनताका लागि हित हुन्छ, त्यहीअनुसार पार्टीले निर्णय गर्नुपर्छ ।

झलनाथ खनालले पनि राष्ट्रपति बन्ने ईच्छा देखाउनुभएको छ । यसमा तपाईको सहमति छ ?
मेरो व्यक्तिगत रुपमा सहमति, असहमति, टिप्पणी केही पनि छैन ।

विद्यादेवी भण्डारी नै दोहोरिने सम्भावना कत्तिको छ ?
यो पनि अहिलेसम्म थाहा छैन ।



प्रतिक्रिया दिनुहोस्