Logo

वाम गठबन्धनले गर्यो ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव, आजै सपथग्रहणको तयारी



फागुन ३ , काठमाडौं । वाम गठबन्धनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ सरकार गठनका लागि दावी पेस गरेका छन् । उनीहरूले राष्ट्रपतिसँग बिहान ९ बजे भेटवार्ता गरेर प्रधानमन्त्रीको दावी पेस गरेका हुन् ।

वाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । राष्ट्रपतिलाई भेट्न एमाले अध्यक्ष ओलीसहित माओवादी र एमाले नेताहरु शितल निवास पुगेका थिए ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा वामपन्थी गठवन्धनको करिब दुई तिहाइ बहुमत छ । एमालेको १ सय २१ र माओवादीको ५६ सासंद छन् ।
प्रतिनिधिसभा समानुपातिकतर्फ एमालेले ४१, र माओवादी केन्द्रले १७ सिट प्राप्त गरेका छ ।

प्रत्यक्षतर्फ एमालेले ८० र माओवादीले ३६ सिट जितेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने भएकी छन् ।

वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष बहुमत सांसदको दावी पेश भएलगत्तै प्रधानमन्त्री नियुक्त गर्न लागिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

यसैबीच एमाले संसदीय दलको पहिलो बैठक मध्यान्ह पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको छ । यो बैठकले ओलीलाई संसदीय दलको नेता चयन गर्ने स्रोतले जनाएको छ ।

एमाले संसदीय दलमा ओलीको सुबिधाजनक बहुमत छ । यसअघि बुधबार बसेको एमाले स्थायी कमिटी बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्