Logo

इतिहास पढ्ने मात्र होइन, रच्ने काम गर्नुस् : डा यादव



काठमाडौँ, ५ फागुन : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले लोकतन्त्रको आधारको रुपमा रहेको आवधिक निर्वाचनको मिति र सबै मतदाताले निर्वाचनमा मतदान गर्ने वातावरण सुनिश्चित गर्न दबाब सिर्जना गर्न युवावर्गसँग आग्रह गर्नुभएको छ ।

लोकतन्त्र र निर्वाचन दिवसको एशोसिएसन अफ युथ अर्गनाइजेसन्स् नेपाल (आयोन) द्वारा आज यहाँ आयोजित ‘मतदानमा युवाको अधिकार’ कार्यक्रममा उहाँले भन्नुभयो, “युवा तपाईंहरु इतिहास पढ्ने मात्र होइन, इतिहास रच्ने काम गर्नुस्, सरकार र राजनीतिक दललाई दबाब सिर्जना गरेर आवधिक निर्वाचन सुनिश्चित गर्दिनुस् ।”

विदेशमा रहेका मतदातालाई मतदान गर्ने वातावरण मिलाउन सरकार र संसदलाई थप ध्यानाकर्षण गराउन आवश्यक रहेको बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले मतदाता शिक्षालाई विद्यालय तहदेखि नै परिस्कृत गर्ने उद्देश्यले ३० जिल्लाका सामाजिक शिक्षाका शिक्षकलाई आयोगले तालिम दिइसकेको जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्य रचना खड्काले राजनीतिक व्यक्तिलाई सच्याउने विधि र माध्यम तथा नेपाली जनतालाई सार्वभौमसत्ताको प्रयोग गर्ने एउटा मात्र अवसर भनेको निर्वाचन भएकाले युवापुस्ताले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र तुल्याउन विशेष चनाखो हुनुपर्छ भन्नुभयो ।

निर्वाचन समावेशी सिद्धान्त विपरित

उहाँले भन्नुभयो, “हामीले अहिले अभ्यास गरिरहेको निर्वाचन समावेशी सिद्धान्त, गरिब र इमान्दार नेता तथा कार्यकताको हित विपरित छ, इमान्दार र राजनीतिक ‘भिजन’ भएको तर पैसा नभएकाले पनि निर्वाचन जित्न सक्छ भन्ने सन्देश प्रवाह गर्ने वातावरण बनाउनुपर्छ । महिला, दलित र गरिब समानुपातिकबाट मात्र निर्वाचित हुने परिस्थितिले लोकतन्त्र कसरी बलियो होला ?”

निर्वाचन आयोगका सहसचिव नवराज ढकालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण तथा मितव्ययी बनाउने आयोगको प्रस्तावलाई सबैले स्वीकार गरेकै कारण निकै उत्साहजनक र सौहार्द वातावरणमा निर्वाचन सम्पन्न भएको बताउनुभयो ।

राष्ट्रिय युवा परिषद्का अध्यक्ष भावना भट्ट, आयोजक संस्था आयोनका अध्यक्ष हिमाल महतलगायतले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राज्यको ढुकुटीको अत्यधिक दोहन भएको, राजनीतिक दल र उम्मेदवारबाट आचारसंहिता उल्लङ्घनका व्यापक घटना हुँदा आयोग लाचार बनेको तथा मतदाता शिक्षा प्रभावकारी नभएको भनी लागेको आरोपलाई आयोगले प्रस्ट पार्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा एक वर्षको अवधिभित्रै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य निर्वाचन सफलतापूर्वक गरेर नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि उदाहरणीय काम गरेको भनी प्रमुख निर्वाचन आयुक्त यादवलाई अभिनन्दन गरियो । (रासस)



प्रतिक्रिया दिनुहोस्