Logo

संविधान संशोधनमा एमाले लचक देखिएकाले सरकारमा जान प्रारम्भिक छलफल : श्रेष्ठ



फागुन १०, काठमाण्डौ । संघिय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नेकपा एमालेसँग सरकार निर्माणबारे प्रारम्भिक छलफल भएको बताएका छन् ।

नयाँ परिस्थितीमा एमालेसँग कसरी सहकार्य हुन सक्छ भन्ने विषयमा छलफल भएको श्रेष्ठले बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले विगतमा एमाले र फोरमबिचको तिक्तता हटाउनका लागि प्रयास गरिएको बताए ।

नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा नयाँ बाटो खोजेर मिलेर जानुपर्ने विषयमा दुवै दल सकारात्मक भएको उनले बताए ।
“दुई पार्टीबिच सहकार्य गरेर जान सकियो भने मुलुकमा नयाँ ढंगले आर्थिक परिवर्तनको मुद्दा सफल बनाउन सकिन्छ । तर त्यसका लागि सबैभन्दा पहिला संविधान जारी हुँदाका मतभेद हल गर्नुपर्छ ।” श्रेष्ठले भने ।

पछिल्लो समय नेकपा एमाले नै संविधान संशोधनमा लचक भएकाले आफूहरु सहकार्य गर्ने विषयमा छलफलमा जुटेको उनको दाबी छ ।

“उहाँहरु हिजोको अडानमा हुनुहुन्न । संविधानमा त्रुटी भएको कुरा स्विकार गरिसक्नुभएको छ ।” श्रेष्ठले भने ।
आफूहरुले उठाएका संविधान संशोधनका विषयहरुमा सबैलाई मान्य हुने गरी अगाडि बढ्न एमाले तयार भएको उनले बताए ।

विगतमा एमाले अध्यक्ष केपी ओली र आफूहरु दुई ध्रुवमा उभिएकाले एकअर्कालाई कटाक्ष भए पनि अब मिलेर जानुपर्नेमा एकमत भएको श्रेष्ठले बताए ।

संविधान संशोधनको एजेण्डा सफल नभएसम्म सरकारमा सहभागि नहुने स्पष्ट पार्दै श्रेष्ठले थपे, “पद मात्रै पाए नर्कै जाने हो भने त विगतमा कांग्रेसले पनि सरकारमा बोलाएको थियो । त्योभन्दा अघि प्रचण्ड प्रधानमन्त्री हुँदा पनि पटक पटक सरकारमा सहभागि हुन आग्रह गरिएको थियो ।”

आफ्नो पार्टी निश्चित विचार र सिद्धान्तमा आधारित रहेको दाबी गर्दै श्रेष्ठले संघवाद र समाजवादलाई अंगिकार गरेर संघिय समाजवादलाई नेपालको समृद्धिको एकमात्र सिद्धान्तको रुपमा लिइएको बताए ।



प्रतिक्रिया दिनुहोस्