Logo

सरकारमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्छ : मन्त्री थापा



‘वृद्धभत्ताको उमेर ७० वर्ष नै ठीक छ’
‘एनजिओ र आईएनजिओहरुलाई व्यवस्थित् गर्छु’
काठमाडौं, १० फागुन । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले मन्त्रिमण्डलमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने बताएकी छिन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले समावेशी–समानुपातिक सिद्धान्त अनुसार संविधानले नै स्थानीय, प्रदेश र संघीय संसदमा ३३ प्रतिशत महिलाको सुनिश्चितता गरिदिएकोले अहिले महिलाहरु आएको बताउँदै मन्त्रिमण्डलमा पनि ३३ प्रतिशत महिलाको सहभागिता हुुनपर्नेमा जोड दिईन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा ३३ प्रतिशत महिलाको सहभागिता गराउने विश्वास दिलाईन् । उनले भनिन्,‘समावेशिताका आधारमा पनि ३३ प्रतिशत महिलाहरुको सहभागिता हुन्छ भन्नेमा म विश्वस्त छु, प्रधानमन्त्री ओलीले पनि गराउनुहुन्छ भन्नेमा आशावादी छु, तर संविधानमै प्रष्टै लेखिदिएको भए राम्रो हुन्थ्यो।’

मन्त्री थापाले एक÷दुई दिनभित्रै मन्त्रिमण्डलले पूर्णता पाउने विश्वास दिलाईन् । उनले भनिन्,‘सरकार विस्तारमा केही ढिलाई भएकै हो, तर आज वा भोलिभित्रै विस्तार हुन्छ, सरकारले पूर्णता पाउँछ।’

उनले आफू वृद्धभक्ताको उमेर आधार वर्ष ७० नै सही भएको पक्षमा रहेको पनि सुनाईन् । थापाले भनिन्,‘जेष्ठ नागरिकको उमेर ७० वर्ष नै सही छ जस्तो लाग्छ, बृद्धभक्ताको लागि अहिले जे चलिरहेको छ, त्यसैलाई निरन्तरता दिनुपर्छ, त्यो भनेको ७० वर्ष नै हो।’

संविधान कार्यान्वयनको चरणमा मुलुक प्रवेश गरिसकेकोले अब छिट्टै आर्थिक–सामाजिक रुपान्तरणले पूर्णता पाउने उनको भनाई थियो । उनले भनिन्,‘मैले जुन मन्त्रालयको जिम्मेवारी पाएको छु, यो जिम्मेवारीलाई म सामाजिक रुपान्तरणको लागि उपयोग गर्छु, म यो उद्देश्यमा खरो उत्रिन्छु।’

मन्त्री थापाले जनताको रगत र पसिना बगाएर ल्याएको संविधानलाई कार्यान्वयन गर्ने दिशामा अघि बढ्ने काम भएकोले वर्तमान सरकार मुलुक र जनताको समृद्धिको लागि निरन्तर लागिपर्ने बताईन् ।

उनले एन.जि.ओ र आई.एन.जिओहरुको उद्देश्य पनि समाजमा टेवा पुर्याउने भएपनि लक्ष्य अनुसार उपलब्धि हाँसिल नभएको गुनासो पोखिन् । उनले भनिन्,‘गैरसरकारी संस्थाहरुको काम पारदर्शी हुनुपर्छ, केही केही कुरा पाएपनि, लक्ष्य अनुसारको उपलब्धि हाँसिल भएका छैनन् । उनले यसको लागि केही नीतिगत परिवर्तन गर्नुपर्नेमा जोड दिईन् ।

थापाले एन.जि.ओ र आई.एन.जिओहरुको भूमिका र गतिविधिहरु अब शहरकेन्द्रित नभएर गाउँ केन्द्रित हुनुपर्ने धारणा राखिन् । उनले भने,‘उहाँहरुको काम अब स्थानीय तहसम्म पुग्नुपर्यो, व्यवहारिक ढंगले गतिविधिहरु अघि बढाउनुपर्छ, संघीयता बलियो हुनको लागि पनि स्थानीय सरकार बलियो हुनुपर्छ।’ उनले आफू एन.जि.ओ र आई.एन.जिओहरुलाई संस्थागत र व्यवस्थित् गर्ने पक्षमा रहेको सुनाईन् ।

कार्यक्रममा नवनियुक्त मन्त्री थापालाई क्लबका सभापति ऋषि धमलाले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्