Logo

जैविक तटबन्ध निर्माण शुरु



कञ्चनपुर, ११ फागुन । कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा रु ५५ लाख नौ हजार ८२८ को लागतमा तीन हजार एक सय मिटर जैविक तटबन्ध निर्माणको कार्य शुरु गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको समन्वयमा मर्सिकोरको सहयोगमा सञ्चालित एमरेड परियोजना अन्तर्गत विपद्को उच्च जोखिममा रहेका समुदायलाई सुरक्षा प्रदान गर्न तटबन्ध निर्माणको कार्य अगाडि बढाइएको हो ।

विपद् जोखिम न्यूनीकरणका लागि शुक्लाफाँटा नगरपालिका–२ र ३ को कार्यालयसँग सहकार्य गरी सुनवरा र ¥यालि नदीमा ८५० मिटर जैविक तटबन्धन निर्माणका लागि कुल रु नौ लाख १० हजार ४६३ को सम्झौता भएको परियोजना अधिकृत महेश घिमिरेले बताउनुभयो ।

तटबन्धन निर्माणका लागि शुक्लाफाँटा वडा कार्यालय २ र ३ बाट रु पाँच लाख, परियोजनाबाट रु दुई लाख २४ हजार ६०५ र समुदायको श्रमदानमा रु एक लाख ६५ हजार ८५८ बजेट विनियोजन भएको उहाँले बताउनुभयो ।

यसैगरी, रु १४ लाख ४३ हजार पाँच सय ६९ को लागतमा सोही नगरपालिका– १२ दुवहामा एक हजार मिटर जैविक तटबन्धन निर्माण हुने सम्झौता भएको अधिकृत घिमिरेले बताउनुभयो । उक्त बजेटमध्ये नगरपालिकाको वडा कार्यालयबाट रु दश लाख, परियोजनाबाट रु दुई लाख २२ हजार नौ सय ७४ र समुदायको श्रमदानबाट रु दुई लाख ४० हजार ५९४ विनियोजन भएको छ ।

त्यस्तै, रु चार लाख ८८ हजारको लागतमा कृष्णपुर नगरपालिकामा तीन सय मिटर जैविक तटबन्ध निर्माणको कार्य अगाडि बढाइएको छ । उक्त तटबन्ध निर्माणका लागि परियोजनाबाट रु ९४ हजार ३९४ नगरपालिकाबाट रु एक लाख ९९ हजार ९२० र समुदायको श्रमदानबाट रु एक लाख छ हजार ५६८ खर्च हुने जनाएको छ ।

शुक्लाफाँटा नगरपालिका– १२ मरघटैया शिविरमा तीन सय मिटर, लालझाडी गाउँपालिका– ४ चन्दापुरमा ५५० मिटर, तथा महाकाली नगरपालिकाले पनि अनुमानित एक सय मिटर जैविक तटबन्धन निर्माणका लागि योजना अगाडी सारिएको अधिकृत घिमिरेले बताउनुभयो ।

त्यसैगरी लालझाडी गाउँपालिका– ४ सिकलपट्टिमा ५१ मिटर ढुंगााको पर्खाल निर्माणको कार्यसमेत अगाडि बढाइएको छ । पर्खाल निर्माणका लागि रु छ लाख ९३० लागत अनुमान गरिएको अधिकृत घिमिरेले भन्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्