Logo

खाद्य मेलामा प्राङ्गारिक वस्तुप्रति आकर्षण



लुम्बिनी, १२ फागुन । यहाँ पहिलो पटक शुक्रबारदेखि खाद्य मेला शुरु भएको छ । ‘परम्परागत पोषिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि खाने बानी सुधार गरौँ’ भन्ने नाराका साथ परम्परागत र संस्कृतिअनुसार जोडिएका पोषणयुक्त खाद्य वस्तुको प्रचारप्रसार र उपभोगका बारेमा जानकारी दिने उद्देश्यका साथ क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजनामा भएको खाद्य मेला आइतबारसम्म चल्नेछ । मेलामा विभिन्न जातजातिका परम्परागत परिकार तथा विभिन्न उद्योगबाट उत्पादित खाद्य वस्तु बिक्रीवितरणका लागि राखिएको छ ।

मेला अवलोकनमा आएकामध्ये अधिकांशले प्राङ्गारिक कोदो र फापरको पीठो, मकै, मकैको आँटो, स्याउको सुकुटी, अष्ट्रिच र च्याउको परिकार, भीरमौरीको मह, खुदो, गुन्द्रुक, सिस्नोको धुलो, अचार आदिमा रुचि देखाएका छन् । मेलामा थारु र मगर समुदायको संस्कारसँग जोडिएका खाद्य परिकार ढिक्री, घोँगी, खरिया, सेलरोटी, बटुक, च्याउ केराको परिकारलगायत खानेकुराका साथै समुदायको संस्कृति झल्कने परिकार राखिएका छन् ।

उपभोक्तालाई पोषणयुक्त खाद्य वस्तुको प्रयोगका बारेमा जनचेतना फैलाउन मेला आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णले उल्लेख गर्नुभयो । स्थानीयस्तरमा अल्प प्रचलनमा रहेका खाद्य पदार्थको उत्पादन विविधीकरण तथा पौष्टिक महत्वका बारेमा सर्वसाधारणलाई जानकारी गराउन मेला उपयोगी हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख हस्तबहादुर राईले जानकारी दिनुभयो ।

पछिल्लो समय बजारमा आएका आधुनिक र प्रशोधन गरिएका खाद्य वस्तुले परम्परागत पोषणयुक्त खाद्य वस्तुको प्रयोगलाई घटाउँदै लगेका बेला आयोजना गरिएको मेलाले सर्वसाधारणलाई राम्रो सन्देश दिने सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी बताउनुहुन्छ । मेलामा विभिन्न अनुसन्धानबाट विकसित नयाँ तथा स्वदेशी खाद्य उत्पादनको प्रवद्र्धन तथा खाद्य पोषणसम्बन्धी सूचना प्राप्त गर्न सकिनेछ ।

प्रदेश नं ५ का भौतिक पूर्वाधार तथा विकासमन्त्री वैजनाथ चौधरीले मेलाको उद्घाटन गर्दै स्थायी मेलामण्डपका लागि पहल गरिने बताउनुभयो । जिल्ला समन्वय समितका संयोजक एकराज विश्वकर्माले सरकारीस्तरबाट मेलाको आयोजना गरिनु प्रशंसनीय काम हो भन्नुभयो । रुपन्देहीका प्रजिअ हरि मैनालीले उपभोक्तालाई सचेत र जागरुक बनाउन मेला उपयोगी हुने धारणा राख्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्