Logo

कुष्ठरोगका ८८ नयाँ बिरामी



नवलपरासी, १५ फागुन  : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट –सुस्ता पूर्व ) जिल्लामा कुष्ठरोग उन्मूलनका लागि गरिएको ‘सर्च अभियान’ मा कुष्ठरोगका नयाँ ८८ बिरामी फेला परेका छन् ।

खोजी अभियानअन्र्तगत नवलपुर क्षेत्रमा १६ र परासी क्षेत्रमा ७२ बिरामी पहिचान भएका हुन् । नवलपुर र परासी क्षेत्रका १२ स्थानीय तहमा कुष्ठरोगका बिरामी पत्ता लगाउन सञ्चालन गरिएको अभियानबाट कुष्ठरोगका नयाँ बिरामी पहिचान भएको मध्यविन्दु सामुदायिक स्मृति अस्पताल डण्डाका कार्यक्रम प्रमुख रामराज पण्डितले बताउनुभयो ।

स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीसहितको विशेषज्ञ टोलीले घरघरमा पुगेर शङ्कास्पद बिरामीलाई दामियन फाउन्डेशनको सहयोगमा पहिचान गरी परीक्षण गरिएको थियो ।

नेपाललाई सन् २०१० मा नै कुष्ठरोग उन्मूलन भएको भनेर घोषणा गरिको भए पनि नवलपरासीसहित रुपन्देही, कपिलवस्तु, कैलालीलगायत जिल्लामा कुष्ठरोग भएका बिरामीको दर बढी पाइएकाले खोजी अभियान सञ्चालन गरिएको थियो ।

नवलपरासीमा गत वर्ष मात्र ७७ नयाँ कुष्ठरोगी भेटिएकामा दुई जना अङ्गभङ्ग र चार बालबालिका रहेको बताइएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्