Logo

गायक उदित जन्मस्थल सप्तरीको भारदहमा



राजविराज, १७ फागुन । झण्डै दुई दशकपछि चर्चित गायक उदितनारायण झा बुधबार आफ्नो जन्मस्थल सप्तरीको भारदह आइपुग्नुुभएको छ । गायक झा जेठी पत्नी रञ्जनासहित हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित आफ्नो घरमा बुधबार आउनुभएको स्थानीयवासी आकाशराज भण्डारीले जानकारी दिनुभयो । गायन पेशामा लागेर लामो समयदेखि भारतको मुम्बईमा बसोबास गर्दै आएपनि उहाँका दाजुभाइ भने भारदहस्थित घरमै बस्दै आएका थिए ।

स्थानिय पत्रकारसँग भारदहमा छोटो कुराकानी गर्दै गायक झाले आफू एक हप्ता जन्मथलोमा बस्ने र लामो समयदेखि भेटघाट नभएका साथीभाइसँग भेटघाटसमेत गर्ने बताउनुभयो । साथै मिथिला क्षेत्रमा मनाइने होली पर्वसमेत यसपालि यहीँ आफ्नो जन्मथलो भारदहमै मनाउने बताउनुभएको छ ।

गायक उदितनारायण आफ्नो जन्मथलो आउनेबित्तिकै सबैभन्दा पहिले भारदहस्थित कंकालनी मन्दिरमा पूजापाठ गर्नुभएको थियो । सो क्रममा पूजा गर्न मन्दिर पुग्दा उहाँलाई हेर्न स्थानीयवासीको भीड लागेको थियो । मन्दिर परिसरमा पालैपालो उहाँसँग सेल्फी लिनेहरुको पनि अत्यधिक भीड लागेको थियो ।

गायक झा आएको थाहा पाउनेबित्तिकै उहाँसँग भेट्न जानेहरुको घुइँचो लागेको स्थानीयवासी भण्डारीले बताउनुभयो । बलिउडमा स्थापित भएपछि दीपा झासँग दोस्रो विवाह गरेलगत्तै जेठी पत्नी रञ्जनासँग उहाँको सम्बन्ध बिग्रेको थियो ।

उदित र रञ्जनाको सम्बन्धका कारण भारतमा विवाद समेत भएको थियो । तर अहिले दुवैको सम्बन्ध सुमधुर भएको पारिवारिक स्रोतले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्