Logo

प्रदेश सातमा गाईको विजोग, तातोपानी खन्याउनेदेखि कान काट्नेसम्म



फागुन २१, काठमाण्डौ । जगतगुरु महाराज वालसन्त मोहनशरण देवाचार्यले प्रदेश नम्बर सातको कंचनपुरमा राष्ट्रिय जनावर गाईको विजोग भएको भन्दै संरक्षण गर्न आग्रह गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै देवाचार्यले त्यस क्षेत्रमा गाईको विजोग देख्दा नेपालीको हृदय र आत्मा नै मरेको अनुभूति भएको भन्दै चिन्ता व्यक्त गरे ।

चुसीचुसीकन गाईको दुध खाइसकेपछि दूध दिन छाडेपछि घर गोठबाट निकालेर अलपत्र पार्ने गरिएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् ।

“अलपत्र पारिएका गाईहरु भोकाएर अल्लोघर पल्लोघर र खेतिवाली खोज्दै जानुपर्यो । अनि गाउँका मान्छेले लाठीले पिट्ने, कान काटिदिने, तातोपानी खन्याइदिने, पुच्छर काटिदिने जस्ता अमानवीय कार्य गरेका छन् ।” उनले भने ।

गाईप्रति निर्मम व्यवहार गरिएको उनको आरोप छ । जङ्गलको बिचमा घेराबन्दी गरेर गाईलाई थुनिएको आरोपसमेत देवाचार्यले लगाएका छन् ।

यसरी खानै नदिई थुनिदिदा सयौँ गाईहरु मरिसकेको उनले बताएका छन् । “खान नपाई छटपटाएर गाई मरेको अवस्था दर्दनाक छ ।” देवाचार्यले भने ।

गौमाताको संरक्षणका लागि सरकारले पहल गर्नुपर्ने माग उनल अघि सारेका छन् ।
“केन्द्रिय सरकारले प्रदेश सरकारलाई ठाडो आदेश दिएर गौमाताको संरक्षण गर्नुपर्छ । कसकसको घरमा गाई छन् भन्ने कुरा तथ्याङ्क निकाल्नुपर्छ । जसले गाईको अलपत्र पार्छ तिनलाई कारबाही गर्नुपर्छ ।” उनले सुझाब दिए ।

बन्दीगृहमा भोकभोकै राखिएका गाईलाई तत्काल बाहिर निकाल्नुपर्ने उनको भनाई ।
सरकारले केही गर्न नसक्ने भए धार्मिक संगठनहरुलाई आग्रह गरेर भए पनि गाई संरक्षणको उपाय खोज्नुपर्ने उनको भनाई छ ।

गाई पाल्नेका लागि प्रोत्साहन गर्नका लागि सेवा सुविधान दिनुपर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्