Logo

रेशम चौधरीलाई जेलमुक्त गर्न प्रधानमन्त्री ओली सकारात्मक हुनुहुन्छ : अनिल झा



राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम सरकारमा सहभागि हुने विषयमा छलफलमा जुटेका छन् । दुवै दलले समान तर फरक तरिकाले आफ्ना माग सरकारसमक्ष राखेका छन् । माग पूरा भए सरकारमा सहभागि हुने दुवै दलका नेताहरुले बताउँदै आएका छन् । यिनै विषयवस्तुमा केन्द्रित रहेर राजपाका नेता अनिल झासँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

सरकारमा सहभागि हुने विषयमा भइरहेको छलफल कहाँ पुग्यो ?
सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग कुराकानी भएको हो । हामीले संविधान संशोधनको माग अघि सारेका छौँ । त्यसमा प्रधानमन्त्रीले सकारात्मक छु भन्नुभएको छ । तर सरकारमा जाने निर्णय गरिएको छैन । किनभने संविधान गर्ने विश्वस्त आधार तयार नभएसम्म सरकारमा जाँदैनौँ ।

प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसँग राजनीतिक रुपमा सहमति नै भइसकेको होइन र ?
छलफल मात्रै भएको हो । दुवै जनाले संविधान संशोधनका लागि सकारात्मक छु भन्नुभएको हो । उहाँहरु त सधैँ सकारात्मक नै हुनुहुन्छ । तर उहाँहरुले कहिल्यै पनि काम गर्नुभएको छैन । यसपटक उहाँहरुले चाहनुभयो भने तुरुन्तै संविधान संशोधन हुन्छ । गर्ने वा नगर्ने भन्ने व्यवहारिक कुरा हो ।

उहाँहरुले त अहिले संविधान संशोधन नगर्ने तर फोरम र राजपाका नेताहरुलाई मन्त्री बनाउने भन्नुभएको छ नि ?
उहाँहरुले जे भने पनि यो विषयमा कुरा मिल्न बाँकी छ ।

तपाईहरु सरकारमा जान खुट्टा उचालेर बस्नुभएको छ । शर्तहरु पनि अगाडि सार्नुभएको छ हैन ?
त्यस्तो होइन । प्रधानमन्त्रीले कुरा गर्छु भनेपछि हामीले भेटेका हौँ । छलफल गरेका हौँ । यस्ता छलफल त सधैँ भइरहेकै छ नि । यो त प्रजातान्त्रिक अभ्यास हो । राजपाका नेतासँग देशका प्रधानमन्त्रीले छलफल गर्न चाहेपछि हामी किन पछि हट्नु ?

सरकारमा जाने कि नजाने, त्यो भन्नुस् न ?
हामी सरकारमा नजाने कसम खाएर राजनीतिक गरेका मान्छे होइनौँ । अहिलेको अवस्थामा सरकारमा जाने कुरा प्रबल होइन । संविधान संशोधनको एजेण्डा प्राथमिकतामा छ । हाम्रो एजेण्डाका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएकै छौँ । सासंद रेशम चौधरीसहित केही साथीहरु जेलमा छन् । वारेन्टेड छन् । यि सबै विषयमा छलफल भएर जे निष्कर्ष निस्कन्छ, सोही अनुसार हामी सरकारमा जाने वा नजाने विषयमा निर्णय गर्छौँ ।

रेशम चौधरीलाई त जेलमुक्त गर्न चाहनुहुन्न भन्ने अरोप छ नि ?
मैले अहिले भर्खरै भनेँ नि, रेशम चाधरीलगायत आन्दोलनका क्रममा मुद्दा लागेर जेल परेकाहरुलाई मुक्त गर्नुपर्छ ।

आधिकारिक रुपमा त रेशम चौधरीको बारेमा केही धारणा आएको छैन नि ?
देशकै सर्वोच्च स्थान संसदमा बोल्दा नै हाम्रा पार्टीका सासंदहरुले रेशम चौधरीको विषय उठाएका थिए । सिपाही र हावलदारलाई भनेर त मुक्त हुँदैन नि । जहाँ जहाँ भन्नुपर्ने हो, ति ठाउँमा राजपाले भनिरहेको छ । प्रधानमन्त्री केपी ओलीसँग पनि कुरा गरिसक्यौँ ।

केके कुरा भयो ?
सबै कुरा त किन भन्न पर्यो र । जे होस सांसद भइसकेका चौधरीलाई मार्ने हो कि बचाउने हो भनेर सोध्यौँ । उहाँले नियम कानुनअनुसार मिलाएर मुक्त गर्न सकारात्मक छु भन्नुभयो । हामीले पहल गरिरहेका छौँ । केके गरियो भनेर सुचना प्रकाशित नै गर्ने कुरा त भएन । रेशम चौधरीलाई पनि यो कुरा थाहा छ । सारा जनतालाई थाहा छ । ऋषि धमलाले हामीलाई यसरी आरोप लगाएपछि त हामी सकिन्छौँ नि ।

सरकारमा सहभागि हुनका लागि दुईवटा मन्त्रालय र उपराष्ट्रपति पद माग्नुभएको हो ?
हामीले केही पनि मागेका छैनौँ । मिडियाले टुइष्ट गरिदिएको मात्रै हो ।

राजेन्द्र महतो र शरतसिंह भण्डारी मन्त्री बन्न चाहनुहुन्छ । तपाईहरुको समर्थन छ कि छैन ?
मन्त्री बन्न कसले चाहदैन र ? सबै गणेशमान जस्तो भए छ मन्त्री र प्रधानमन्त्री को बन्ने ? हामीले संविधान संशोधन र बन्दी नेताहरु छुटाउनुपर्ने माग गरेका छौँ । उहाँहरु सकारात्मक हुनुहुन्छ ।

सरकारमा को जाने भन्ने विषयमा तपाईहरुचि होडबाजी भएको हो ?
होडबाजी छैन । दुईवटा मन्त्रालय पाएको खण्डमा को जान्ने भन्ने छलफल गर्छौँ । तर अहिले सरकारमा जाने नजाने टुङ्गो छैन ।

तर तपाईहरु सरकारमा जानुहुन्छ होला ?
अब तपाईसँग जति सुचना मसँग हुँदैन । तपाईसँग सबै क्षेत्रका मान्छेहरुसँग कुराकानी भइरहन्छ । त्यसैले म चाँही अहिले नै राजपा सरकारमा जान्छ भन्न सक्दिन ।

राष्ट्रपतिमा कसलाई मतदान गर्नुहुन्छ ?
पार्टीमा निर्णय हुन्छ । अहिले सम्भावनाको कुरा नगरौँ ।



प्रतिक्रिया दिनुहोस्