Logo

रेशम चौधरी निर्दोष छन्, उनको माग पूरा नभएसम्म सरकारमा जाँदैनौँ : मनिष सुमन



राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई विश्वासको मत दिएको छ । राजपाले आफूलाई सत्तापक्ष पनि भनेको छ । तर सरकारमा सहभागि छैन । आज मन्त्रीमण्डल विस्तार हुँदा पनि राजपाको सहभागिता नहुने भएको छ । किन त ? यिनै विषयवस्तुमा केन्द्रित रहेर राजपाका नेता मनिष सुमनसँग कुराकानी गरिएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

आज मन्त्रीमण्डल विस्तार हुँदैछ । तपाईहरु पनि सहभागि हुने हो ?
सरकारलाई हामीले विश्वासको मत दिइसकेपछि सरकारमा जाने वा नजाने कुरा गौण रहन्छ । हामी सरकारका समर्थित पार्टी हौँ । अब सरकारको मन्त्री मण्डलमा सदस्य हुने नहुने कुरा प्राथमिकतामा रहँदैन ।

सरकारमा सहभागि हुने कि नहुने ? योजना त होला नि ?
हाम्रो पार्टीका तर्फबाट उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्यका लागि विजयी भएका रेशम चौधरी अहिले अनशनरत हुनुहुन्छ । उहाँको न्यायोचित मागको सम्बोधन नहुँदासम्म हामी मन्त्रीमण्डलको सदस्य भएर सगर्वित हुन सक्दैनाँै । तसर्थ चौधरीको माग पूरा नभएसम्म हामी सरकारमा जाँदैनौँ ।

तर राजपाका नेताहरु त सरकारमा जान खुट्टा उचालेर बसेका छन् नि ?
हामीले खुट्टा उचाल्नै पर्दैन । प्रधानमन्त्रीले नै बारम्बार सरकारमा आउन आग्रह गर्नुभएको छ । तर रेशम चौधरीको माग पूरा नभएसम्म राजपा मात्रै होइन, संघिय समाजवादी फोरमलाई पनि सरकारमा जान अप्ठ्यारो भइरहेको छ ।

फोरमका अध्यक्ष उपेन्द्र यादव त मन्त्री बन्दै हुनुहुन्छ नि ?
उहाँलाई धन्यवाद छ ।

अब तपाईहरु चाँही कहिले जाने त सरकारमा ?
म प्रष्टसँग भन्छु, रेशम चौधरीको अनशनको सम्बोधन नहुँदासम्म राजपा मन्त्रीपरिषदमा सामेल हुन सक्दैन ।

तर कानुनी रुपमा सरकारले रेशम चौधरीलाई छोड्न सक्दैन नि ?
त्यो हामीलाई पनि थाहा छ । तर रेशम चौधरीले प्रस्तुत गरेका मागहरुलाई अध्ययन गर्ने हो भने सम्मानित अदालतको फैसलालाई प्रभावित पार्ने खालको छैन । उनको माग भनेको उनी निर्वाचित सासंद हुन्, सासंद भएको प्रमाणपत्र पाउनुपर्यो । उनले पनि सपथ ग्रहण गर्न पाउनुपर्यो । त्यसपछिका कुरा अन्य हुन् ।

जेलमा भएको व्यक्तिलाई प्रमाणपत्र दिने र सपथ खुवाउने काम कसरी हुन सक्छ ?
संसारमा धेरै मान्छे जेलबाटै निर्वाचन लडेको नजिर छ । चौधरीले त निर्वाचन लड्दा सबै प्रमाणहरु निर्वाचन आयोगमा पेश गरेका छन् । निर्वाचन लड्दाका बखत उनी अपराधी हुन भनेर किन निर्वाचन आयोगले भन्न सकेन ?

तपाईलाई थाहा छैन टिकापुर काण्ड ?
मलाई राम्रोसँग थाहा छ । त्यो दुखद थियो । तर त्यसका योजनाकार र हत्यारा चौधरी होइनन् । वास्तविक दोषीलाई कारबाही गर्नुपर्छ । कानुनले कोही निर्दोष व्यक्तिलाई सजायँ दिनुहुँदैन भनेको छ ।

अनि कानुनले अपराधीलाई सासंद बनाउनुपर्छ भनेको छ ?
रेशम चौधरी अपराधी हुन भनेर मैले वा तपाईले भनेर हुँदैन । उनी अपराधी होइनन् भन्ने कुरा कैलालीका जनताले ४३ हजार भोट दिएर पुष्टी गरेका छन् ।

चुनाव जित्दैमा सबै मान्छे राम्रा हुन्छन् ?
उनको मुद्दाको फाइल मैले पनि पढेको छु । एकजना चौध वर्षे बालक,जो नावालक छन्, उनको बयानको आधारमा ढाइसयभन्दा बढि मतदाताको नाम खाली राखेर जाहेरी तयार गरिएको छ । उनी घटनास्थलमा नै छैनन् ।

तपाईले भनेर हुन्छ र ?
मैले भनेकै छैन । यो त उनकाविरुद्ध लागेका सरकारी वकिलले भनेका हुन् । घटनास्थलमा नै नभएको मान्छेलाई योजनाकार भनेर फसाउन खोजिएको छ । उनी हत्यारा भएको भए आफै आत्मसमर्पण गर्न जान्थे ? हत्यारालाई जनताले निर्वाचित गराउँछ ? त्यसैले उनी निर्दोष छन् ।



प्रतिक्रिया दिनुहोस्