Logo

क्रिकेटले दिएको खुशीलाई कायम राख्दै समग्र खेलकूदको विकासका लागि प्रतिबद्ध छु : खेलकुद मन्त्री विश्वकर्मा



मन्त्रीमण्डल विस्तार भएसँगै सरकारले पूर्णता पाएको छ । केही नयाँ र केही पुराना अनुहार मन्त्रीमण्डलमा सहभागि गराइएको छ । युवा तथा खेलकूद मन्त्रीको रुपमा पहिलो पटक जगतबहादुर विश्वकर्मा सरकारमा सहभागि छन् । नेपालको खेलकूद र समग्र युवा वर्गसँग सम्बन्धित रहेर मन्त्री विश्वकर्मासँग ऋषि धमलाले कुरा गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको संक्षिप्त संपादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेपालको खेलकूद क्षेत्रको विकासका लागि कस्ता योजना बनाउँदै हुनुहुन्छ ?
राष्ट्रको पहिचान, गरिमा र सम्मान अभिवृद्धिका लागि खेलकूद क्षेत्रको विकास गर्नु जरुरी छ । नेपाली क्रिकेटमा नेपालले भर्खरै एक दिवसीय राष्ट्रको मान्यता प्राप्त गरेको छ । यसले नेपाल र नेपालीलाई खुशी दिएको छ । यो खुशीलाई कायम राख्दै खेलकूदको विकासका लागि म प्रतिबद्ध छु । खेलकूद र युवा जनशक्तिलाई राष्ट्र निर्माणको महाअभियानमा लैजानु जरुरी छ । यो लक्ष्य हासिल गर्नका लागि म योजना बनाउँदै छु ।

क्रिकेटमा नेपालले सफलता हात पारेको कुरा गर्नुभयो । तर नेपाल क्रिकेट एसोसियसनमा विवाद छ । कसरी सुल्झाउनुहुन्छ ?
यस विषयमा अध्ययन गरिरहेको छु । प्रारम्भिक रुपमा बुझिरहेको छ । समस्याको जड पत्ता लगाएर समग्र खेलकूद क्षेत्रको विकासका लागि कार्ययोजना बनाउँछु । विगतमा भएका गल्तीबाट शिक्षा लिएर खेलकूद क्षेत्रमा भएका समस्यालाई समाधान गर्नका लागि म नेतृत्वदायी भूमिका खेल्छु । खेलकूद क्षेत्रलाई मर्यादित रुपमा अगाडि बढाएर नेपाली जनतालाई नै खुशी बनाउनेछु ।

खेलमार्फत विश्वमा नेपाललाई चिनाउन खेलाडिहरु सफल भएका छन् । उनीहरुको मूल्याङ्कन कसरी हुन्छ ?
वीर गोर्खालीको रुपमा नेपालीहरुको इज्जत र प्रतिष्ठा बढाउन खेलाडिहरुले महत्वपूर्ण योगदान पुर्याएका छन् । यसलाई अझै माथि उठाउने हिसाबले खेलाडि र खेलकूद क्षेत्रको विकासका लागि दीर्घकालिन योजना र कार्यक्रम तय गरेर अगाढि बढ्नेछु ।

नेपाली युवाहरुका लागि के गर्ने योजना छ ?
सुखी नेपाली समृद्ध नेपाल बनाउने महाअभियानमा छौँ । स्वभाविक रुपमा यो लक्ष्य पूरा गर्नका लागि सिङ्गो राष्ट्रको युवा जनशक्ति परिचालन गर्ने योजना छिटै ल्याउँछौँ । युवाहरुको सामथ्र्य प्रयोग नगरी देश विकास हुँदैन ।



प्रतिक्रिया दिनुहोस्