Logo

कांग्रेस इतिहासमै कमजोर भयो भन्नु गलत हो, तत्काल नेतृत्व परिवर्तन सम्भव छैन : निधी



नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक यही नौ गतेदेखि बस्दैछ । चुनाव बेहोरेको हारको समिक्षा बैठकमा गरिने बताइएको छ । आगामी दिनमा पार्टीको संगठन बलियो बनाउने विषयमा पनि छलफल हुनेछ । चुनावमा पार्टीको हार, सभापति शेरबहादुर देउवाको आलोचना र केन्द्रिय समिति बैठकका एजेण्डा लगायतका विषयमा बस्तुमा केन्द्रित रहेर ऋषि धमलाले कांग्रेसका नेता विमलेन्द्र निधीसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेपाली कांग्रेसभित्रको गुटको अन्त्य कसरी हुन्छ ?
राजनीतिक दलमा आ–आफ्नो समुह हुनुलाई अस्वभाविक मान्नु हुँदैन । तर कांग्रेसभित्रको गुट समस्याको रुपमा देखिएको छ । चुनावमा हार्नुको कारण गुटगत राजनीति पनि एक कारण हो भन्ने कुरा आइरहेको छ । अब ९ गतेदेखि बस्ने केन्द्रिय कार्यसमितिको बैठकमा सबै समस्याका विषयमा छलफल हुन्छ । चुनाव हार्नुको कारणबारे विशेष छलफल गर्छौँ । अबका दिनमा कांग्रेसलाई थप बलियो कसरी बनाउने भन्ने विषयमा हामी छलफल गर्छौँ ।

केन्द्रिय समिति बैठकमा कुन विषयलाई प्राथमिकतामा राख्नुहुन्छ ?
मेरो विचारमा अहिले गर्नुपर्ने छलफलको क्षेत्र दुईवटा छ । एउटा राष्ट्रिय राजनीतिमा कांग्रेसले कस्तो भूमिका खेल्ने भन्ने हो । अर्को कांग्रेसले चुनावमा हारेकाले अब आन्तरिक रुपमा कसरी पार्टीलाई बलियो बनाउँदै लैजाने भन्ने विषयमा छलफल गर्नु जरुरी छ ।

चुनावमा पार्टीले हारेपछि सभापति शेरबहादुर देउवाले नैतिकताको आधारमा राजिनामा दिनुपथ्र्यो भन्ने आवाज उठ्यो । यसलाई कसरी लिनुहुन्छ ?
हारेको बेलामा एकले अर्कोलाई दोष लगाउनु समान्य हो । यसरी दोष लगाउनुभन्दा वस्तुगत स्थितीको अध्ययनपछिको प्रतिवेदनअनुसार अगाडि बढ्नुपर्छ । अहिले नै निष्कर्षमा पुग्नुपर्छ ।

पार्टीभित्रको पुनः संरचना पनि अहिलेसम्म हुन सकेन । पदाधिकारीको चयन पनि हुन सकेको छैन । यो नेतृत्वकै कमजोरी होइन ?
संविधानले राज्यको जसरी पुनः संरचना गरेको छ, त्यसैगरी पार्टीको संरचना परिवर्तन गर्नुपर्छ । अहिलेसम्म हाम्रो ध्यान राष्ट्रिय राजनीतिमा केन्द्रित भयो । संविधान कार्यान्वयनको दिशामा लैजानका लागि त कांग्रेसले नै नेतृत्व लिएको हो नि । अब भने हामी पार्टीका लागि गर्नुपर्ने यि सबै काम गर्छौँ । पार्टीको विधान संशोधन गर्नुपर्छ । यसका लागि महासमितिको बैठक गर्नुपर्छ । यिनै विषयलाई प्राथमिकता दिनुपर्छ । एकअर्कालाई दोष लगाएर पार्टी बलियो हुँदैन ।

कांग्रेस त इतिहासमै सबैभन्दा कमजोर अहिले बनेको भन्ने तर्क कांग्रेसकै नेताहरुले गरेका छन् । यसको कारण सभापति देउवा होइन ?
इतिहासमै कमजोर भनेर नभन्नुस् न ।

शेखर कोइरालाले नै भनिसक्नुभयो ?
उहाँले पढेको–देखेको इतिहास र अरुले पढेको इतिहास फरक होला सायद । आलोचना गर्न नै मन लाग्यो, दोषरोपण नै गर्न मन लाग्यो भने तर जे मन लाग्छ त्यही भन्दिए भयो । मूल कुरा के छ भने अहिले हामी पराजित भएका छौँ । यो अवस्थामा संगठन बलियो बनाउनतिर लाग्नुपर्छ ।

सभापति देउवाले राजिनामा दिएर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने सम्भावना कस्तो छ ?
यसको कुनै जरुरी छैन । सम्भव पनि छैन । यो अनावश्यक कुरा हो । नेतृत्व चयन त पार्टीको महाधिवेशनबाट हुनुपर्छ । अब जे हुन्छ चौथौँ महाधिवेशनमा हुन्छ । अहिले अर्ली वा विशेष महाधिवेशन केही पनि हुँदैन ।

विशेष महाधिवेशनको माग गरिएको छ नि ?
माग हुनु ठिकै कुरा हो । तर अहिले पुरानै संरचनाका प्रतिनिधीबाट महाधिवेशन गराउनु हुँदैन । नयाँ संरचनाअनुसार महाधिवेशन प्रतिनिधी नै छैनन् । त्यसैले पहिला सबै ठाउँमा संरचना परिवर्तन गर्नुपर्छ ।

देउवाको विकल्प छैन भन्न खोज्नुभएको हो ?
किसुनजीले भन्नुहुन्थ्यो, भगवानबाहेक सबैको विकल्प छ । मैले त भगवानको पनि विकल्प छ भन्ने गरेको छु । संसदीय दलको चुनावमा पनि मैले देउवाको विकल्पको कुरा गरेको थिएँ । तर देउवाको विकल्प बन्न सक्ने नेता रामचन्द्र पौडेल संसदमा नभएकाले देउवालाई नै अघि सारिएको हो । त्यसैले अब जसजसको विकल्प खोजे पनि चौधौँ महाधिवेशन कुर्नुपर्छ ।

कांग्रेस ध्वस्त भएका बेला पनि विकल्प नखोजेर हुन्छ त ?
ध्वस्त भएको छैन । कांग्रेसको संगठनकै कुरा गर्नुहुन्छ भने पपुलर भोटमा कांग्रेस नै अगाडि छ नि । तर सरकार निर्माण गर्ने सन्दर्भमा कांग्रेसले जति मत पाउनुपथ्र्यो त्यति पाएन ।

तपाईहरु सभापति देउवाको कमजोरी छ भनेर किन भन्न सक्नुहुन्न ?
सबैको कमी कमजोरी छ । शेरबहादुर, रामचन्द्र, विमलेन्द्र, अरु नेताहरु । सबैको कमजोरी कतै न कतै छ । गाउँ इकाई समितिदेखि केन्द्रसम्म जिम्मेवारी लिएका सबैको कमजोरी छ । तर कमजोरी छ भन्दैमा ढोल पिट्दै हिँड्ने हो र ? कमजोरीलाई त वैज्ञानिक ढंगले समाधान गर्नुपर्छ । समाधान खोज्नुपर्छ ।

तपाई तराई मधेशमा कांग्रेसको नेतृत्वकर्ता नै हो । तर त्यस क्षेत्रमा पनि कांग्रेसको नतिजा कमजोर आयो नि ?
देशैभरी यस्तै नतिजा आएको छ । कांग्रेसले संविधान कार्यान्वयनलाई प्राथमिकतामा राख्दा आफू हारेको छ । चुनावमा कसरी जित्ने भन्नेतिर हाम्रो ध्यान कम भयो । लोकतन्त्र र संविधानको रक्षामा कांग्रेसको सबै शक्ति प्रयोग भयो । देश, जनता र लोकतान्त्रिक प्रणाली जोगाउनका लागि ध्यान केन्द्रित हुँदा हामीले क्षति बेहोर्नुपर्यो । तर पनि जनताले जितेका छन् ।

प्रतिपक्षी दलको भूमिका कसरी निर्वाह गर्नुहुन्छ ?
प्रदेश र केन्द्रमा जुन सरकार बनेको छ, त्यसको भूमिका जनताको पक्षमा भएको छ कि छैन भन्ने कुरामा हामी सचेत हुन्छौँ ।

प्रधानमन्त्री केपी ओलीबाट कत्तिको अपेक्षा गर्नुभएको छ ?
हामीले हेर्दैछौँ । अहिले न्यायालयमाथि हस्तक्षेप गर्ने, कर्मचारीतन्त्रमाथि हस्तक्षेप गर्ने काम भइरहेको छ । सबै कम्युनिष्टीकरण गर्नतिर लाग्नुभएको छ । शाषन प्रणाली लोकतान्त्रिक भनिएको छ तर शाषक कम्युनिष्ट छ ।

प्रधानमन्त्रीले त देश विकास नै आफ्नो प्राथमिकता भएको बताइरहनुभएको छ नि?
त्यो त हामी हेर्छौँ । राम्रो काम गर्दा त समर्थन गरिहाल्छौँ नि ।

संसदमा तपाईहरु एक्लै बन्नुभएको छ ।
विगतमा एक अर्काका विरोधीहरु अहिले संसदा मिल्न लागेका छन् । यो कुरा जनताले हेरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्