Logo

स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अपराजित यात्रा जारी



काठमाडौं, चैत ५ । स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अपराजित यात्रा जारी छ । गएराति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई २–० ले हरायो । बार्साका लागि पाको अल्कासेर र लियोनेल मेस्सीले एक–एक गोल गरे ।

जितसँगै बार्सिलोना प्रतियोगिताको २९ खेलमा अपराजित छ । यी २९ खेलमध्ये बार्सिलोनाले २३ मा जित र ६ वटामा बराबरी गरेको हो ।

ला लिगाअन्तर्गतको अर्को खेलमा रियाल मड्रिडले गिरोनालाई ६–३ ले पराजित गर्‍यो । खेलमा रियाल मड्रिडलाई विजयी गराउन क्रिष्टियानो रोनाल्डोले चार गोल गर्दा ग्यारेथ बेल र भाज्क्वेजले एक–एक गोल थपे ।

स्पेनिस लिगकै अर्को खेलमा भियारियालले एथ्लेटिको मड्रिडलाई २–१ ले हरायो ।  गएरातिका खेलपछि ला लिगाको अंक तालिकामा २९ खेलबाट ७५ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । समान खेलबाट ६४ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ भने तेस्रो स्थानको रियाल मड्रिडको ६० अंक छ ।

एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्