Logo

पोखरामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिने : मन्त्री विश्वकर्मा



पोखरा, ६ चैत : युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले पोखरामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गरिने बताउनुभएको छ ।

नेपाल खेलकूद पत्रकार मञ्च कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले पोखराको पर्यटकीय सम्भावनालाई खेलसँग पनि जोड्न सकिने बताउनुभयो ।

खेलाडीलाई खेल खेलेरै जीविकोपार्जन गर्न सक्ने अवस्थाको सिर्जना नहुँदासम्म खेल क्षेत्रले राम्रो गति प्राप्त गर्न नसक्ने उहाँको भनाइ छ ।

पर्याप्त वातावरण नहुँदा पनि नेपाली क्रिकेट खेलाडीले महत्वपूर्ण सफलता हासिल गरेको बताउँदै उहाँले यसको विकासका लागि व्यवस्थित क्रिकेट मैदान बनाइने उल्लेख गर्नुभयो ।

सन् २०१९ मा हुने दक्षिण एशियाली खेलकूद (साग)लाई सम्पन्न गर्ने विषय राज्यको गरिमासँग जोडिएको बताउँदै उहाँले त्यसका लागि आवश्यक भौतिक संरचना निर्माणलाई अघि बढाइएको छ भन्नुभयो ।

आगामी बजेटले खेललाई प्राथमिकता दिने बताउँदै मन्त्री विश्वकर्माले युवा सशक्तीकरणका कार्यक्रमलाई पनि अघि बढाउने उल्लेख गर्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्