Logo

स्काउटलाई राजनीति हस्तक्षेपबाट मुक्त गरिन्छ : मन्त्री विश्वकर्मा



काठमाडौँ, २० चैत : नेपाल स्काउटका प्रमुख स्काउट एवं युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नेपाल स्काउट संगठनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरिने बताउनुभएको छ ।

स्काउट भनेको गैरराजनीतिक तथा सामाजिक उद्देश्य बोकेको विशुद्ध शैक्षिक अभियान भएकाले यसलाई स्वतन्त्र अभियानका रुपमा विकास गरिने बताउनुभयो ।

नेपाल स्काउटको मुख्यालय लैनचौरमा आज आयोजित छलफल कार्यक्रममा अधिकांश वरिष्ठ स्काउट गुरु एवं पदाधिकारीले नेपाल स्काउट पछिल्लो समयमा राजनीतिक हस्तक्षेपबाट मुक्त हुन नसकेको गुनासो गरेपछि प्रमुख स्काउटको हैसियतमा मन्त्री विश्वकर्माले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

सोही समारोहमा प्रमुख स्काउट विश्वकर्माले नेपाल स्काउटको प्रमुख स्काउटको हैसियतमा शपथ लिनुभयो । उहाँलाई नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक चन्दन कौशिकले नेपाल स्काउटको स्कार्फ लगाइदिनुभयो ।

नेपाल स्काउटको प्रमुख स्काउटको हैसियतमा दीक्षित भएपछि मन्त्री विश्वकर्माले स्काउट संगठन यसको विशुद्ध उद्देश्य र मर्मअनुरुप चल्न जरुरी रहेकामा जोड दिनुभयो ।

देशको विकास, समृद्धि र सुशासनका लागि वर्तमान प्रधानमन्त्री लागिपर्नुभएको उल्लेख गर्दै मन्त्री विश्वकर्माले अब देशमा विगतको जस्तो कुनै पनि क्षेत्रमा अस्थिरता र अन्योल नहुने पनि स्पष्ट गर्नुभयो ।

मुलुक अब संघीय संरचनामा गइसकेकाले सोहीअनुसार स्काउटको ऐन निर्माण गर्न पनि युवा तथा खेलकुद मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको पनि मन्त्री विश्वकर्माले जानकारी दिनुभयो ।

नेपाल स्काउटको तेस्रो राष्ट्रिय ज्याम्बोरी (बृहत् स्काउट भेला) सकेसम्म जेठको पहिलो साता आयोजना गर्नेगरी कार्यक्रम तय गर्न पनि उहाँले नेपाल स्काउटका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

त्यसअवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहालले नेपाल स्काउटका कार्यक्रमलाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्नुपर्ने, पूर्वाधारको विकासमा जोड दिनुपर्ने, संघीय संरचनाअनुसार स्थानीय र प्रादेशिक तहमा स्काउट विकास र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक चन्दन कौशिकले आफूहरु नेपाल स्काउटको दिगो विकास, सुशासन र राजनीतिमुक्त संगठन बनाउनेतर्फ लागिपरेको बताउनुभयो ।

त्यस अवसरमा नेपाल स्काउटका पूर्वप्रमुख आयुक्त श्रीराम लामिछाने, वरिष्ठ स्काउट गुरु प्रा गोविन्द नारायण ज्यापु, राष्ट्रिय तदर्थ समितिका सल्लाहकार डा रवीन्द्रप्रसाद पाण्डेलगायतले नेपाल स्काउट ऐन जतिसक्दो चाँडो संशोधन गरेर संघीय संरचनाअनुसार स्काउट पदाधिकारीको निर्वाचनका लागि बाटो खोल्न आग्रह गर्नुभएको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्