Logo

पुलिसलाई पराजित गर्दै आर्मी सेमिफाइनलमा



विराटनगर, २२ चैत । विराट गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनलमा आज मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लब भिड्दै छन् ।विराटनगरमा जारी प्रतियोगिताको उपाधि दाबेदार यी दुई टोलीबीचको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

यसअघि बुधबार भएको खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा ४–२ गोलले पराजित गर्दै आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

उसले शुक्रबार झापा–११ सँग प्रतिस्पर्धा गर्ने छ । निर्धारित ९० र थप गरिएको ३० मिनेटको समयमा दुबै टिमबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो ।

आर्मीको जितमा गोलरक्षक विकेश कुथुको भूमिका महत्वपूर्ण रह्यो । उनले पेनाल्टी सुटआउटमा नेपाल पुलिसको एउटा प्रहार रोकिदिएका थिए ।

आर्मीका तर्फबाट कप्तान भरत खवास, जर्जप्रिन्स कार्की, दिपक गुरुङ र विवेक बस्नेतको प्रहारले जाली चुम्यो । पुलिसका सुमन लामा र दिनेश राजवंशीको प्रहारले मात्रै पोष्टको दिशा लिन सकेको थियो । खेलको म्यान अफ दि म्याच नेपाल पुलिसका रवि पासवान घोषित भए ।



प्रतिक्रिया दिनुहोस्