निजी विद्यालयले पालना गर्नुपर्ने निर्देशिका र मापदण्डको पूर्ण कार्यान्वयन गराउँछौँ : महर


वैशाख ५, काठमाण्डौ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले निजी विद्यालयहरुले असुल्ने चर्को शुल्कका विषयमा आफूहरु चुप लागेर नबस्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष महरले हरेक वर्ष नयाँ शैक्षिक शत्र सुरु हुने बेला विद्यालयहरुले चर्को शुल्क निर्धारण गर्ने गरेको भन्दै अब त्यस्तो प्रवृत्तिको अन्त्य गर्ने बताए ।

विगतमा सरकारले बनाएको मापदण्ड पालना नहुने गरेको भन्दै अब निर्देशिका र मापदण्डको पूर्ण पालना गराईने दाबी महरले गरे ।

विद्यार्थी संगठनहरुले नै निजी विद्यालयहरुसँग पैसा लिएर आन्दोलन तुहाउने गरेको भन्ने आरोपको खण्डन गर्दै अध्यक्ष महरले आफूले अहिलेसम्म कहीँ कतैबाट पैसा नलिएको दाबी गरे ।

“पैसा पत्रकारले पनि लियो भन्छन्, नेता र वकिलले पनि लियो भन्छन् । व्यापारीले पनि लियो भन्छन् । तर मैले मेरो तर्फबाट नेवि संघको अध्यक्षको नाताले भन्छु, कुनै ठाउँबाट पनि मैले पाँच सय रुपैयाँ मात्रै लिएको छु भने प्रमाण देखाउनुस् ।” महरले भने ।

शुल्कका विषयमा शिक्षा मन्त्रालयले उचित निर्णय नगरेसम्म आफूहरु लडिरहने महरले बताए । सरकारी विद्यालयको शिक्षाप्रति विश्वास नभएर गरिब नागरिकले समेत निजी विद्यालयमा पढाउनुपर्ने बाध्यताका अन्त्यका लागि सार्वजनिक शिक्षाको गुणस्तर पनि बढाउनुपर्ने उनले बताए ।