नीजी विद्यालयहरुले चर्को शुल्क फिर्ता नगरे कडा आन्दोलन गर्ने संयुक्त विद्यार्थी संगठनहरुको चेतावनी


काठमाडौं, ५ बैशाख । संयुक्त विद्यार्थी संगठनहरुले नीजी विद्यालयहरुले चर्को शुल्क फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा संयुक्त विद्यार्थी संगठनले ‘नीजी विद्यालयको चर्को शूल्कवृद्धि र शुल्क मापदण्ड निर्देशिका कार्यान्वयनको सवाल’ नामक अन्तरक्रियामा बोल्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् ।

कार्यक्रममा बोल्दै शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले कानूनभन्दा माथि कोही पनि नभएको स्पष्ट पारे । उनले भने,‘सबै निजी विद्यालय गलत छैनन, जसले चर्को शुल्क लिएका छन्, तिनीहरुमाथि अनुगमन हुनुपर्छ।’

अर्यालले कानूनको अटेर गर्ने विद्यालयहरुलाई कारबाही गर्ने मन्त्रालयको तयारी रहेको विश्वास दिलाए ।  त्यस्तै उनले सरकारले प्रदान गर्दै आएको १० प्रतिशत छात्रवृत्ति जसले पाउनुपर्ने हो उसले नपाएकोमा गुनासो पोखे । उनले थपे,‘छात्रवृत्तिलाई नियमित गर्नुुपर्छ।’

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले आधारभुत र माध्यामिक तहको शैक्षिक प्रणालीमै ठूलो मतभिन्नता रहेको गुनासो पोखे । उनले भने,‘यो डरलाग्दो अवस्था छ । यो भिन्नता कम जर्न जरुरी छ ।’

प्यावसन र ऐन–प्यावसनले शुल्क वृद्धि छैन भनेर गलत कुरा बोलेको उनको आरोप छ । उनले भने,‘नीजी विद्यालयका सञ्चालकहरुले महँगी अनुसार चलेको भनेर भन्नुभएको छ, त्यो कुुरा नाटक हो, हामी घाटामा छौं, समस्यामा छौं भनेर नाटक नगर्नुहोस् । हामीले पनि देखेका छौं, कुन स्कुल कति घाटामा छ, कति नाफामा छ भनेर।’

शुल्कवृद्धि नघटाए ती प्रत्येक स्कुल अगाडि अभिभावक राखेर सार्वजनिक सुनुवाई गर्ने तामाङले चेतावनी दिए । उनले थपे,‘नेपाल संसारको दोस्रो ठूलो गरिब देश हो, तपाईहरुपनि त्यही अनुसार चल्नुहोस् । मनोमानी ढंगले अघि बढे सह्यै हुँदैन, हामी अहिलेपनि आन्दोलित छौं।’

प्यावसन र ऐनप्यावसनले बनावटी जवाफ दिएर पन्छिन नपाउने उनको चेतावनी थियो । उनले भने,‘नेपालको नियम र कानून अनुसार चल्नुपर्छ, होईन भने तपाईहरु चन्द्रमामा गएर खोल्नुहोस्, मंगलग्रहमा गएर खोल्नुहोस् वा विदेशमा गएर खोल्नुहोस्, हामीलई आपत्ति छैन, यदि नेपालमा खोल्ने हो भने यहाँको नियम र कानून मान्नुपर्छ ।’

निर्देशिका कार्यान्वयन गर्ने र शुल्कवृद्धि फिर्ता गर्ने भनेर भनिएको एक वर्ष बितिसक्यो तर अहिलेसम्म ती कुराहरु कार्यान्वयन नभएकोमा उनले आक्रोश पोखे ।उनले भने,‘यदि यस्तै अटेरी गर्ने हो भने हामी तालाबन्दी गर्न बाध्य हुन्छौं ।’

प्यावसनका अध्यक्ष विजय सम्वाहाम्फेले शिक्षाको मापदण्ड बनाउनुपर्नेमा जोड दिए । उनले सरकारी तथा निजी दुवै विद्यालयको पढाईको मापदण्ड एकै किसिमको बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै राष्ट्रिय अभिभावक संघका अध्यक्ष धर्मदेव देवकोटाले प्राथमिक शिक्षा पाँच कक्षासम्म निःशुल्क हुनुपर्नेमा जोड दिए । उनले भने,‘नीजीको पढाउने तरिका सामूदायिक विद्यालयमापनि हुनुपर्यो । सबै नैतिक जिम्मेवारी सरकारले लिनुपर्छ ।’

देवकोटाले स्थानीय निकायले आफ्नै कानून बनाएको बताउँदै यसलेपनि अलिकति भद्रगोल बनाएको गुनासो पोखे ।‘ यसमा पहिले क्लियर हुनुपर्यो ।’–उनले थपे ।

अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तोलाले देशमा लोकतन्त्र, गणतन्त्र आएको र, राजनीतिक व्यवस्थामा पनि परिवर्तन आएको तर शिक्षा क्षेत्रमा लोकतन्त्र नआएको आरोप लगाए ।

नीजी विद्यालय निर्देशिका र कानून अनुसार किन चल्दैन् भन्दै उनले प्रश्न समेत तेर्साए । उनले अघि थपे,‘नीजी विद्यालयले गरेको ब्रम्हलुटलाई कसले नियन्त्रण गर्ने ? म यही मञ्चबाट सोध्न चाहन्छु।’

उनले नीजी विद्यालयहरुले मनोमानी ढंगले शैक्षिक शुल्क तोकिएको, शिक्षा क्षेत्रमा आतंक मच्चाइएको आरोप लगाए । उनले थपे,‘एक क्लासमा पनि एक लाख शुल्क लिईएको छ, यस्था ठाउँमा निरिक्षण गर्नुपर्छ । हामी चुप लागेर बस्दैनौं, शुल्कवृद्धि घटाउनुपर्छ।’

एन प्यावसनका महासचिव सुवास न्यौपानेले नीजी विद्यालयहरु पनि क, ख, ग श्रेणीमा बाँडिएको उल्लेख गर्दै विशिष्ट श्रेणीमा रहेका विद्यालयहरुले चर्को मुल्य लिएकोले त्यस विषयमा गम्भिर बन्न आग्रह गरे ।

आफूहरुमाथि अकुत सम्पत्ति कमाएको भनेर लगाईएको आरोपलाई खण्डन गर्दै न्यौपानले यसबारेमा आफूबाटै छानबिन गर्न चूनौति दिए ।

त्यस्तै कार्यक्रमको सञ्चालक नेविसंघका केन्द्रिय उपाध्यक्ष पुष्पकुमार शाहीले निजी विद्यालयहरुमा चर्को शुल्कवृद्धि भएकोप्रति कडा आपत्ति जनाउँदै शुल्कवृद्धि नघटाएसम्म आन्दोलन नरोकिने बताए । उनले भने,‘हामी त आन्दोलित छौं । हामी विगतमा पनि आन्दोलित थियौं । शिक्षालाई संविधानलेपनि मौलिक हकमा राखेको छ, मनलाग्दी गर्न पाईँदैन्।’

कार्यान्वयनको दिशामा नलगेर नीजी विद्यालयहरुले टालटुल गर्ने काम गर्न नहुने शाहीको धारणा थियो । उनले भने,‘नीजी विद्यालयहरुले ७ प्रतिशतदेखि ४८ प्रतिशतसम्म शुल्क वृद्धि गरेका छन्, यसको विरुद्धमा विद्यार्थी संगठनले जेहाद छेडेका छन् । उनीहरुले आफ्नो गलत कुर्तत फिर्ता नगरेसम्म हदैसम्मको आन्दोलन गर्छौं, आन्दोलन परिणाममुखी हुन्छ ।’ आफूहरुले कहिल्यैपनि कसैसँग सम्झौता नगरेको भन्दै यसपटकपनि आन्दोलनलाई सफल बनाएरै छाड्ने उनको उद्धघोष थियो ।