वैशाख १०, काठमाण्डौ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले माओवादीसँगको एकता प्रक्रिया प्रभावकारी ढंगले नै अगाडि बढिरहेको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले एकता सम्पन्न हुन्छ भन्ने कुरामा कुनै दुविधा नरहेको दाबी गरे । केही कामहरु बाँकी रहेकाले वैशाख नौ गते एकता सम्भव नभएको उनले बताए ।
कहिले एकता हुन्छ भनेर अहिले नै मिति घोषणा गर्न सक्ने अवस्था नबनेको बताउँदै पौडेलले एकता सम्पन्न हुने दाबी गरे ।
“एकताका लागि त्यति ठूलो समस्या छैन । तर तपाईले मितिसोध्ने र मैले मिति घोषणा गरिहाल्ने अवस्था छैन ।” पौडेलले भने ।
एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्षबिच एकताको विषयमा छलफल जारी रहेको भन्दै उनले छिटै एकताको गृहकार्य पूरा हुने बताए ।
पार्टीका जुनसुकै जिम्मेवार नेताहरु एकीकृत पार्टीको अध्यक्ष बन्ने सम्भावना रहेका भन्दै अहिले नै कसलाई अध्यक्ष बनाउने भन्ने विषयतिर प्रवेश नगरिएको पौडेलले बताए ।
अहिले नै को अध्यक्ष बन्ने भन्नेमा सहमति गर्दा महाधिवेशनको क्षेत्राधिकारमाथि हस्तक्षेप हुने उनको तर्क छ ।
महाधिवेशनसम्म प्रचण्ड र ओलीले नै पालोपालो बैठकको अध्यक्षता गर्ने र महाधिवेशनपछि को अध्यक्ष बन्ने कुरा महाधिवेशनले तय गर्ने उनको भनाई छ ।
आलोपालो प्रधानमन्त्री बन्ने कुरा चर्चा मात्रै भएको भन्दै पौडेलले माओवादी अध्यक्ष प्रचण्डले नै केपी ओलीको नेतृत्वमा पाँच वर्ष सरकार चल्ने भनिसकेको दाबी गरे ।




प्रतिक्रिया