वैशाख १०, काठमाण्डौ । नेपाली कांग्रेसका नेता रमेश लेखकले संविधानले गरेको संरचनाअनुसार कांग्रेसको संचना रुपान्तरित गर्नुपर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले केन्द्रिय समितिको बैठकमा पनि यस विषयमा तर्क प्रस्तुत भइरहेको बताए ।
बैठकमा नेतृत्वका आलोचना मात्रै भएको भन्ने कुराको खण्डन गर्नै नेता लेखकले पार्टी सुधारका उपायहरुका बारेमा केन्द्रिय सदस्यहरुले राखेका कुरालाई आलोचनाको दृष्टीले मात्र हेर्न नहुने बताए ।
आइतबारको बैठकमा कुलबहादुर (केबी) गुरुङले पार्टीको सबै कमिटी भंग गर्ने प्रस्ताव राखेका थिए ।सबै तहको अधिवेशन गरेर आगामी ६ महिनाभित्र महाधिवेशन गर्नु एक मात्र समाधान भएको उनले बताएपछि त्यसले तरङ्ग ल्यायो ।
केन्द्रीय कार्यसमितिको बैठकमा लिखित धारणा राखेका गुरुङले १३ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति प्रस्ताव गर्नु गल्ती भएको समेत स्वीकार गरेका छन् ।
यता नेता लेखकले भने बैठकमा नेताहरुले आफ्नो विचार राख्नु सामान्य भएको बताए । नेताहरुको दुष्टीकोणलाई पार्टीले समग्रतामा राखेर अगाडि बढ्ने लेखकले बताए ।
सभापति शेरबहादुर देउवालाई सबै नेताहरुले असफल नभनेको भन्दै लेखकले कतिपयले सफल र कतिपयले असफल भन्नु सामान्य भएको जिकिर गरे ।
“बैठकमा वादविवाद र आलोचना मात्रै भएको छ भन्ने कुरा विल्कुल होइन । बैठकमा निर्वाचनको समिक्षा भएको छ । अरु विचारहरु पनि व्यक्त भएको छ । पार्टीले सबै विचारलाई समग्रतामा अध्ययन गर्छ ।” लेखकले भने ।
अबका दिनमा कांग्रेसलाई कसरी अगाडि लिएर जाने भन्ने विषयकै केन्द्रविन्दुमा निर्वाचनका समिक्षा भइरहेको उनले बताए ।
अबका दिनमा कांग्रेस एकढिक्का भएर अगाडि बढ्ने दाबीसमेत लेखकले गरे । सभापति देउवाले पदाधिकारी नियुक्तिको तयारी गरेको जानकारी दिदै लेखकले केन्द्रिय समिति बैठकले सर्वसम्मत निर्णण गर्ने बताए ।
सभापतिको प्रस्तावलाई बैठकले अनुमोदन गर्ने उनको भनाई छ ।
विजयकुमार गच्छादारले गणेश लामालाई केन्द्रिय समितिमा मनोनित गर्न प्रस्ताव गरेको भन्ने कुरा आफूलाई थाहा नभएको लेखकले बताए ।




प्रतिक्रिया