वैशाख १०, काठमाण्डौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको असन्तुष्ट समूहले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा समक्ष एक ज्ञापनपत्र बुझाउँदै १२ औं महाधिवेशनको माग गरेको छ ।
महामन्त्री कुञ्दनराज काफ्ले नेतृत्वको असन्तुष्ट समूहले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर सभापति देउवा समक्ष ज्ञापनपत्र बुझाएको हो । नेविसंघको वर्तमान नेतृत्वले संगठनलाई हुकुम प्रमांगीशैलीमा चलाएको भन्दै उनीहरुले तत्काल महाधिवेशन मिति र स्थान तोक्न माग गरेका छन् ।
अध्यक्ष नैनसिंह महरले विधानविपरित तोकआदेशका भरमा जिल्ला सभापति नियुक्त गरेको आरोप असन्तुष्ट समूहको छ । त्यस्ता निर्णयहरु बदर हुनुपर्ने उनीहरुले माग गरेका छन् ।
करिब १० बजे पार्टी कार्यालय पुगेको विद्यार्थी नेताको समूहले केहीबेर पार्टी कार्यालयमा धर्ना दिएका थिए । नेविसंघ नेताले पार्टी केन्द्रीय कार्यालय घेराउ गरिरहँदा भित्र पार्टीको केन्द्रीय समिति बैठक चलिरहेको थियो ।
ज्ञापनपत्र बुझ्दै सभापति देउवाले नेविसंघभित्रको विवादबारे आफू जानकार रहेको विद्यार्थी नेताहरुलाई बताएका छन् ।
‘नेविसंघले प्रतिस्पर्धी संगठनहरु अखिल र क्रान्तिकारीसँग जुध्दै अघि बढ्नुपर्ने अवस्था छ । तर जिल्लामा नेविसंघ–नेविसंघबीच नै भिडन्तको खतरा छ’, केन्द्रीय सदस्य सुशील भट्टले सभापतिलाई सुनाएको भनाइ उदृत गर्दै नेपालखबरसँग भने, ‘यो विषय हामीले सभापति समक्ष स्पष्ट रुपमा राख्यौं ।’ सभापति देउवाले सबैसँग समन्वय गरेर विवाद मिलाउने आश्वसन दिएको उनले जानकारी दिए ।
महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा गएको टोलीमा उपाध्यक्षद्वय रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी तथा सहमहामन्त्री परमेश्वर साहसहितका नेविसंघ नेताहरु सहभागी रहेको नेवि संघ नेता निरन्जन थापाले बताए ।




प्रतिक्रिया