यसपटक मोदीको नेपाल भ्रमण सफल हुन्छ : दीक्षित


वैशाख ११, काठमाण्डौ । नागरिक समाजका अगुवा तथा राजनीतिक विश्लेषक डा. सुन्दरमणि दीक्षितले नेपाल–भारतबिचको तिक्ता हट्दै गएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै दीक्षितले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको सम्बन्ध सुमधुर बन्दै गएको दाबी गरे ।

विगतमा नेकपा एमाले र त्यसका अध्यक्ष ओलीकै कारण भारतसँगको सम्बन्धमा तिक्तता आएको बताउँदै दीक्षितले अहिलेको अवस्थामा भारतले पनि राम्रोसँग हात फैलाएको बताए ।

यही वैशाख २८ गते मोदीको नेपाल भ्रमण तय भएको उल्लेख गर्दै दीक्षितले अबका दिनमा दुवै पक्ष राम्रोसँग चल्न सक्यो भने नेपालको विकास सम्भव हुने बताए ।

“भारत र नेपालबिचको सम्बन्ध सुधार गर्दै जाने हो भने नेपालको विकासलाई कसैले रोक्न सक्दैन ।” दीक्षितले भने ।

वैशाख २८ गते भारतीय प्रधानमन्त्री नेपाल आउने लगभग पक्का भएको छ । तर त्यसअघि मोदी चिन भ्रमणमा जाँदैछन् । यस सन्दर्भमा कुरा गर्दै दीक्षितले नेपाल भ्रमणअघि चिन भ्रमण हुनु संयोग मात्रै भएको बताए ।

“पहिले नै बनेको चिन भ्रमणको तालिकापछि नेपाल भ्रमण हुने कुरालाई हामीले वास्ता गर्नु जरुरी छैन । भारतसँग जे गर्नुछ गरौँ न । चिनसँग के गर्ने हो गरौँ । भारत र चिनले जे गर्छन् गरुन् । उता गए, यता आए भन्ने कुरा मतलब छैन ।” दीक्षितले भने ।

यसअघि मोदीको नेपाल भ्रमण खत्तमै भएको उल्लेख गर्दै यसपटक सफल हुने विश्वास दीक्षितले व्यक्त गरे ।

मोदीको जनकपुर र मुक्तिनाथ भ्रमणलाई नेपालले सफल बनाउनुपर्ने उनको भनाई छ ।

हिन्दुत्वको कारण मोदीको नेपाल प्रेम बढेको दीक्षितको तर्क छ ।