वैचारिक संघर्षले माग पूरा नभए सडक संघर्ष : राजेन्द्र श्रेष्ठ


वैशाख १३, काठमाण्डौ । संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधनको माग पूरा नभएसम्म आन्दोलन गरिरहने बताएका छन् ।

संविधान संशोधनको मुद्दा छोडेर आफूहरु सरकारमा सहभागि हुन नजाने श्रेष्ठले बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उनले संविधान संशोधनलाई सकारात्मक रुपमा लिएकाले नै प्रधानमन्त्री केपी ओलीले आफूहरुलाई पनि सरकारमा सहभागि हुन आग्रह गरेको तर्क गरे ।

आफूहरु पनि माग पूरा भएको अवस्थामा मात्रै सरकारमा सहभागि हुने श्रेष्ठले बताए । “हाम्रा लागि सरकार प्रमुख कुरा होइन । संविधान संशोधन लगायतका माग पूरा नभए पाँच वर्ष संघर्ष गर्छौँ । शक्ति संचय गर्छौ । उपयुक्त समयमा पहिचान र अधिकार मुद्दा लिएर परिवर्तनमा जान्छौँ ।”

अहिले नै संसद अवरुद्ध गर्नुपर्ने अवस्था भने नआएको भन्दै श्रेष्ठले आफ्ना कुराहरु स्पष्टका साथ राख्ने बताए । यद्यपी आवश्यकताअनुसार वैचारिक संघर्षले निष्कर्षमा पुग्न नसकिए सडक संघर्षमा पनि जाने उनले बताए ।