Logo

‘फस्टाउँदो’ यौन व्यवसाय



काठमाडौं १५ बैशाख । केही दिनअघि सुनवल नगरपालिका २ भुमहीस्थित त्रिदेव रेस्टुरेन्ट एण्ड बारमा प्रहरीले मध्यरातमा छापा मारेर ३ युवती नियन्त्रणमा लिएको थियो । व्यावसायिक रुपमा यौन क्रियाकलाप सञ्चालन भएको सूचना र स्थानीयको गुनासो आएपछि प्रहरीले छापा मारेको हो ।

प्रहरीले रेस्टुरेन्टबाट प्रयोग भएका र नभएका अस्थायी साधन तथा वेश्यावृत्तिमा प्रयोग हुने प्रमाणसमेत फेला पारेको छ । भुमहीमात्र होइन, पूर्वपश्चिम राजमार्ग आसपासका केही होटल तथा सीमावर्ती क्षेत्रमा यौनजन्य क्रियाकलाप बढो छ । नियन्त्रणमा लिइएका युवतीले रेस्टुरेन्ट सञ्चालकले आफूहरुलाई यौन व्यवसायमा लगाएर ग्राहकबाट एकमुष्ट रकम लिने गरेको बताए । उनीहरुले भने निकै कम रकम पाउँछन् । प्रहरीलाई पनि युवतीले त्यही बयान दिए । रेस्टुरेन्ट मालिक फरार छन् । फरार सञ्चालकमध्ये देवबहादुर थापामगरलाई प्रहरीले पक्राउ गरेर मानव बेचविखन तथा ओसारपसार कसुरअन्तर्गत अदालत पेश गरेको छ । सञ्चालकमध्येकी महिला भने अझै फरार छन् ।

जिल्ला प्रहरीका प्रमुख एसपी मुकुन्द आचार्यका अनुसार मदिरा सेवन गरेर रातभर होहल्ला गर्ने, खुल्ला बस्तीसँगै रहेको रेस्टुरेन्टमा यौन क्रियाकलापका लागि बार्गेनिङ नै हुने गरेको छ । त्यसले सामाजिक सद्भाव र मर्यादा नै खलबलिएको गुनासो आएपछि जिल्लाको टोलीले नै अप्रेसन गरेको बताए । ‘रेस्टुरेन्टको नाममा वेश्यावृत्ति बढेको जनगुनासो र पर्याप्त सूचनाका आधारमा छापा मार्दा व्यावसायिक रुपमै वेश्यावृत्ति भइरहेको पाइयो,’ उनले भने, ‘नियन्त्रणमा रहेकाले समेत कसुर कबुल गरेर निश्चित रकम लिएर यौन सम्पर्क राख्ने गरेको स्वीकार गरेपछि मानव बेचविखन तथा ओसारपसारसम्बन्धी मुद्दा दर्ता गरिएको हो ।’

यसअघि पनि सुनवल क्षेत्रमा खुल्लमखुल्ला रेस्टुरेन्ट तथा लजमा यौन गतिविधि हुने गरेका थिए । त्यसमा पनि स्थानीयको दबाबमा प्रहरीले बन्द गराएको थियो । स्थानीयले भने प्रहरीकै संलग्नतामा यस्ता धन्धा भए पनि प्रहरीसँग कुरा नमिलेपछि मात्र छापा मार्ने गरेको आरोप लागाएका छन् । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्