मन्त्री पुनद्वारा रसुवामा जलविद्युत् आयोजना निरीक्षण


रसुवा, १५ वैशाख : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले रसुवा जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ ।

मन्त्री पुनले माथिल्लो त्रिशूली थ्री ए ६० मेगावाट, १११ मेवा रसुवागढी र ४२ दशमलव तीन मेगावाटको तल्लो साञ्जेन र १४ दशमलव आठ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको हो ।

निर्माणाधीन जलविद्युत् आयोजनाको स्थलगत निरीक्षणपश्चात् मन्त्री पुनले लगनशील भई निर्धारित मितिमा विद्युत् निर्माणको कार्य सम्पन्न गर्न यहाँ कार्यरत प्राविधिकलाई निर्देशनसमेत दिनुभएको थियो । रसुवा जिल्लाको जलविद्युत् आयोजना निरीक्षणका लागि मन्त्री पुनले हिजो र आज गरी दुईदिन भ्रमण गर्नुभएको थियो ।

माथिल्लो साञ्जेन जलविद्युत्को ७० प्रतिशत एवं तल्लो साञ्जेनको ६५ प्रतिशत पूरा भएको आयोजनाका कार्यकारी निर्देशक किरण श्रेष्ठले र रसुवागढी जलविद्युत् अयोजनाको काम भने ६० प्रतिशत पूरा भएको रसुवागढी जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक माधव कोइरालाले प्रगति प्रतिवेदन मन्त्रीसमक्ष जाहेर गर्नुभएको थियो ।

मन्त्रीका साथमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव अनुपकुमार उपाध्यायसमेतको सहभागिता थियो ।

निरीक्षणपछि मन्त्री पुन प्रेस सेन्टर, रसुवाले स्याफ्रुबँेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा समेत सहभागी भई जलस्रोत व्यवस्थापनबाट ऊर्जा उत्पादन कार्यमा अब अनुमतिपत्र लिएर काम नगर्ने कम्पनीको इजाजत खारेज गर्ने बताउनुभयो ।

वर्तमान सरकार जलस्रोतको विकासमा गहनरुपले अगाडि बढ्ने बताउँदै उहाँले जलस्रोतको फाइदा हरेक नेपालीलाई सहज बनाउन नीतिगत केही विषय परिवर्तनको तयारीमा अगाडि बढेको जानकारी दिनुभयो ।

विद्युत् करिडोरका रुपमा विकसित हुँदै गएको रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा रसुवागढीको अलावा अन्य दुई ठाउँमा विद्युत् उत्पादनका लागि निर्माणको चरणमा लान तयारी भइरहेकाले अब आफ्नो गाउँपालिकाभित्र ४०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताउनुभयो ।

रसुवागढी जलविद्युत् आयोजनाको लागत रु १३ अर्ब ६४ करोड, साञ्जेन माथिल्लो रु पाँच अर्ब २४ करोड र साञ्जेन तल्लो रु दुई अर्ब २० करोडको लागतमा निर्माण भइरहेको सम्बन्धित आयोजनाका प्रमुखले बताएका छन् ।

मन्त्रीको रसुवा भ्रमण र जलविद्युत् क्षेत्रको निरीक्षणले अब रसुवा जिल्लामा स्वीकृत भई कार्यान्वयनमा आउन बाँकी रहेका जलविद्युत् आयोजना छिटो सञ्चालनमा ल्याउन मद्दत मिल्ने कुरामा जिल्लावासी आशावादी रहेको नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष इन्द्रप्रसाद गोतामेले बताउनुभयो ।

मन्त्री पुनलाई रसुवा जिल्लावासीले खादा लगाइ भव्य स्वागत गरेका थिए । (रासस)