Logo

घटिया संविधान संशोधन गर्नुपर्छ, होइन भने खारेज गराएर छाड्छौँ : उपेन्द्र यादव



संघिय समाजवादी फोरम नेपाल सरकारमा सहभागि हुने लगभग पक्का भएको भनेर चर्चा गरिए पनि उक्त दल सरकारमा सहभागि भएन । प्रदेश सरकारलाई अधिकार दिनुपर्ने माग गर्दै आएको फोरमले मधेशी जनताले पाउनुपर्ने अधिकार पनि नपाएको भन्दै संविधान संशोधनको माग गरिरहेको छ । तर फोरमको मागलाई सरकारले चासो दिएको पाइदैन । यिनै विषयवस्तुमा केन्द्रित रहेर फोरमका अध्यक्ष उपेन्दै यादवसँग ऋषि धमलाले अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

प्रदेश सरकार गठन भएपछि भएका काम कारबाहीलाई कसरी हेर्नुभएको छ ?
पहिलो कुरा प्रदेश सरकारलाई के कति अधिकार दिइएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । अहिले त प्रदेश सरकारको आफ्नो प्रशासनसमेत छैन । हावामा लट्काइदिए जस्तो छ । प्रदेश सरकार चलाउने कानुन छैन । काम गर्ने निकाय पनि छैन । अनि सरकारले कसरी काम गर्छ ।

संघीयतामा गएपछि झन समस्या थपिएको हो ?
संघीय प्रणालीको सबैभन्दा विकृति नै घटिया किसिमको संविधान हो । अधिकारविहिन प्रदेश सरकार बनाएर कसरी काम हुन सक्छ ? अब संघीय प्रणाली कसरी अगाडि बढ्छ भन्ने ठूलो प्रश्न खडा भएको छ ।

तलबसुविधा बढाउने लगायतका अधिकार दिएको छ नि ?
तलबले काम हुन्छ ? तलब भनेको सुविधा मात्रै हो । जबसम्म प्रदेश सरकारको मातहतमा निकाय, बजेट र स्रोत साधन हुँदैन, तबसम्म प्रदेश सरकारले काम गर्न सक्दैन ।

तर गर्नसक्ने काम पनि गरेको पाइएन नि ?
केन्द्र सरकार बेइमान छ । प्रदेशहरुलाई बदनाम गराउने काम मात्रै गरेको छ । अन्तमा संघियता र गणतन्त्रलाई समाप्त पार्ने षडयन्त्र पर्दाभित्र भइरहेको छ । यस्तो प्रदेश सरकार जसको शाषन प्रशासन छैन, प्रदेश सरकार त केन्द्रको गुलामी मात्रै छ । यो सबै संविधानमा भएको त्रुटीका कारण हो ।

प्रदेशका मन्त्रीहरु त काम नपाएर रिबन काटेर बसेका छन् । यसरी विकास हुन्छ ?
धन्न रिबन काट्न पाएका छन् । प्रदेशभित्रका प्रशासन, सुरक्षा निकाय, अर्थ व्यवस्था प्रदेश सरकार मतहतमा नभएसम्म त रिबन काट्ने मात्रै हो ।

त्यसोभए संघीयतामा गएपछि पनि विकास र समृद्धि हुँदैन त ?
त्यो कुरा केन्द्र सरकारको रवैयामा भर पर्छ । केन्द्र सरकारले संविधान संशोधन गरेर प्रदेश सरकारलाई बलियो नबनाएसम्म विकास र समृद्धि हुनै सक्दैन ।

संविधान संशोधनलाई बेमौसमको बाजा भन्न थाले नि ?
संविधान संशोधन नगर्ने हो भने खारेज गर्नुपर्छ । अहिलेको संविधान यथास्थितीमा चल्न सक्दैन । चुनाव हुँदैमा सबै व्यवस्थित हुन्छ र ? प्रदेशले अधिकार नपाएसम्म संविधान सफल हुन्छ । यस्तो घटिया संविधानले केन्द्र सरकारलाई मात्रै शक्ति र स्रोत साधन दिएको छ । यो त विकेन्द्रिकरण पनि छैन । यस्तो शाषन प्रणाली जनतामाथि थोपरेर केही हुँदैन ।

तपाईले त संविधान मानिसक्नुभयो नि । अहिले संविधानको विरोध किन गर्नुहुन्छ ?
तपाईले भनेर हुन्छ ? आफ्नो कुरा जबरवस्ती नगर्नुस न । यो संविधानले देशको हित गर्दैन ।

यो संविधानलाई त भारतले पनि स्वागत गर्यो । प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जाँदा चुनाव सम्पन्न भएर नयाँ सरकार गठन भएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिनुभयो ।
यो संविधान नरेन्द्र मोदीले स्विकार गरेर अब भारतमा लागु गर्ने हो र ? यो नेपालको संविधान हो कि भारतको हो ? मधेशको जनतालाई गोली ठोकेर जबरजस्ती घोषणा गरेको संविधान हो । यो संविधानलाई मधेशी, जनजाती र अन्तर्राष्ट्रिय समुदायलेसमेत स्विकार गरेको छैन । निर्वाचन त सबै देशमा हुन्छन् । नेपालमा पनि यसअघिका संविधान हुँदा पनि चुनाव त भएकै थिए । चुनाव हुँदैमा संविधान ठीक हुने भए ४७ सालको संविधान पछि पनि चुनाव भएको थियो । त्यो संविधान खै ?

अब के गर्ने त ? तपाईले भनेजसरी संविधान संशोधन गर्न सरकार तयार भएन ।
कि त संविधान संशोधन गरेर प्रभावकारी रुपमा संघिय प्रणालीमा जानुपर्छ । संशोधन हुँदैन भने भोलीका दिनमा जनताले विद्रोह गरेर खारेज गरिदिन्छन्, नयाँ बनाउँला । यो सातौँ संविधान हो, अब आठौँ बनाउँला ।

संविधान संशोधन नभएसम्म मधेशी जनताले अधिकार पाउँदैनन भन्ने तपाईको निष्कर्ष हो ?
पहाडमा पनि कहाँ अधिकार पाएको छ र ? अरु प्रदेश सरकारको पनि अवस्था उस्तै छ । यो सिङ्गो मुलुकको कुरा हो । संघियताको मर्मलाई आत्मसाथ नगरिकन देखाउनका लागि मात्रै संविधान, व्यवहारमा चाँही केन्द्रिकृत, एकात्मक र नश्लवादी चिन्तनलाई बोकेर मुलुकको हित हुँदैन ।

तपाई परराष्ट्रमन्त्री पनि भइसकेको व्यक्ति, पछिल्लो समय उत्तर र दक्षिण कोरिया, भारत र चिनबिच सम्बन्ध सुमधुर हुँदै गएको छ । नेपालको परराष्ट्र नीतिलाई कसरी लिनुभएको छ ?
नेपालको परराष्ट्र नीति के हो भन्ने कुरा सरकारलाई नै थाहा छैन । जथाभावी बोल्ने, मौसम हेरेर भाषण गर्ने । यसरी परराष्ट्र नीति सफल हुँदैन । आज नेपालको यस्तो अवस्था छ, न दक्षिणले न उत्तरले, कसैले पनि नेपाललाई विश्वास गर्न सकेको छैन । पूर्व, पश्चिमा राष्ट्रले पनि विश्वास गर्न सकेका छैनन् ।

भारतीय प्रधानमन्त्री जनकपुर जाँदै हुनुहुन्छ । यसको सन्देश के हुन सक्छ ?
यसले दुई देशबिचको सम्बन्ध राम्रो हुन्छ । मधेशका जनताको अवस्थाका बारेमा मोदीजीले नजिकबाट हेर्न पाउनुहुनेछ ।



प्रतिक्रिया दिनुहोस्