Logo

दुई महिनाभित्रमा गर्नुपर्ने पदाधिकारी मनोनयनको काम दुई वर्षपछि गर्नुको अर्थ छैन डा. रामशरण महत (भिडियोसहित)



नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापति पदको उम्मेदवारी घोषणा गर्दा शेरबहादुर देउवाले आफूले जिते कांग्रेसलाई विधि विधान र पद्धतिमा डोर्होयाउने बताएका थिए । उनले सुशील कोइरालाई पराजित गर्दै सभापति जित्न पनि सफल भए । औपचारिक रुपमा कांग्रेसको नेतृत्व सम्हालेको २ वर्ष वितिसकेको छ, तर तिनै देउवाले पार्टीको बिधानले बाँधेका थुप्रै काम पूरा गर्न सकेका छैनन् । महाधिवेशन भएको दुइ वर्ष बितिसक्दा पनि पदाधिकारी नियुक्त नगरेको भनेर निकै आलोचना बेहोरिरहेका देउवाले अब यसको छिनोफानो गर्ने प्रयास गरेका छन् । तर असहज परिस्थिती देखिएको छ । यसै विषयमा कांग्रेस केन्द्रिय सदस्य डा. रामशरण महतसँग ऋषि धमलाले कुरा गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेपाली कांग्रेसमा पदाधिकारी नियुक्तिको विवाद किन चुलियो ?
पदाधिकारी विवाद चुलिएको मलाई थाहा छैन । पदाधिकारी प्रस्ताव नै भएको छैन । कसरी विवाद हुन्छ ?

सभापति शेरबहादुर देउवाले पदाधिकारीको प्रस्ताव गर्ने तयारी गरेपछि बैठक नै स्थगित भएको होइन ?
महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारी मनोनयन गर्नुपर्ने हो । तर दुई वर्षभन्दा बढि समय भइसक्यो । त्यसकारण अब मनोनयन गर्ने कुरा वैधानिक हुँदैन भनेर कार्यसमित बैठकमा धेरै साथीहरुले कुरा उठाएका थिए । विधानको व्यवस्था नै बदलेर पदाधिकारी मनोनयन गर्नुपर्छ भन्ने कुरा आएकाले बैठक स्थगित भएको हो ।

दुई वर्षसम्म सभापति देउवाले पदाधिकारी रोक्नुभयो । अहिले वरिष्ट नेता रामचन्द्र पौडेलले रोक्नुभयो भन्ने आरोप छ । खास कुरा के हो ?
पदाधिकारी रोक्ने कुरा होइन । मुल कुरा विधानअनुसार हुनुपर्छ भन्ने हो । केन्द्रिय समिति बैठकमा विधानअनुसार चल्नुपर्छ भनेर सशक्त रुपमा उठेको हो । अहिले विधान संशोधन नगरी पदाधिकारी मनोनयन गर्दा विधान विपरित हुन्छ ।

महामन्त्री डा. शशांक कोइरालाले त सभापति देउवाले जे गर्नुभएको छ, त्यो ठिक छ भन्नुभयो नि ?
कसले के भन्नुभयो भन्ने कुरा आ–आफ्नो विचार हो । सबैको एउटै विचार हुँदैन ।

पदाधिकारीको भागबण्डा नमिलेका कारण विवाद भएको हो ?
फेरी भागबण्डाको कुरा गर्नुभयो । यस विषयमा मलाई केही पनि थाहा छैन । तर पार्टीभित्र सहमति जुटाएर निर्णय गर्नुपर्छ ।

कांग्रेसभित्र विवाद नै नभएको हो त ?
विवाद त सबै पार्टीमा हुन्छ । लोकतान्त्रिक पार्टीमा विचार विमर्श हुन्छ । यो सामान्य कुरा हो । विधानअनुसार काम गरौँ भन्दा त्यसलाई विवाद भन्न मिल्दैन । समस्यालाई समाधान गर्नेतिर जान्छौँ ।

अब २१ गते बस्ने भनिएको बैठक बहिष्कार गर्ने हो ?
तपाईलाई यस्तै कुरा गर्न मजा आउँछ । फलानोले बहिष्कार गर्यो, फलानोले विरोध गर्यो ।

कांग्रेसभित्रको विवाद त बाहिर आइसक्यो नि । तपाईले अस्विकार गरेर हुन्छ र ?
कहाँबाट कुरा आउँछ ? पार्टीमा सानो विवाद छ भने पनि बढाईचढाई चर्काएर प्रस्तुत गरिन्छ । कतिपय मुद्दामा छलफल हुन्छ, समस्या समाधानको बाटो खोजिन्छ । पार्टीभित्र यस्तो त भइहाल्छ नि । बढाइचढाई गर्नुहुँदैन ।

सभापति देउवाले त रामचन्द्र पौडेलले दुई वर्षसम्म सहयोग नगरेका कारण पदाधिकारी मनोनयन गर्न नसकेको भन्नुभयो नि ?
कसले के भन्यो मलाई थाहा छैन । तर सहयोग नगरेको जस्तो लाग्दैन । किन त्यसो भन्नुभयो मैले बुझेको छैन । मुख्य कुरा सबैले आ–आफ्नो आत्ममूल्याङ्क गर्नुपर्छ । सभापतिले आफ्ना कमजोरीप्रति आत्ममूल्याङ्क गर्नुपर्छ । अरु नेताहरुले पनि अरुलाई दोष लगाएर मात्रै समाधान हुँदैन ।

सभापति देउवाले त पेलेरै लान्छु भन्नुभएको छ । तपाईहरु के गर्नुहुन्छ ?
पेलेर पेलिने कुरा होइन । कोही पेलिनेवाला छैन । सबै मिलेर समझदारी कायम गरेर मात्रै अगाडि बढ्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्