वैशाख १८, काठमाण्डौ । चुनावमा पार्टीले पराजय भोगेपछि आलोचित बनेका कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेल समुहका भनिएका महामन्त्री डा. शशांक कोइरालालाई आफ्नो पक्षमा पार्न सफल भएका छन् ।
महामन्त्री शशांक कोइराला एकाएक बरिष्ठ नेता रामचन्द्र पौडेलसँग रुष्ट बनेका छन् । उनले नेता पौडेललाई आवेगमा नआउन समेत चेतावनी दिएका छन् ।
डा. कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलको सहमतिमै पदाधिकारी मनोनयन गर्न आफूले सोमबार बोलाइएको निर्वा्िचत केन्द्रीय सदस्यहरूको बैठक शुक्रबारसम्मका लागि स्थगित गर्न सभापति देउवासँग आग्रह गरेको पनि स्पष्ट पारेका छन् ।
पछिल्लो समय नेता कोइराला पार्टी सभापति देउवाप्रति अलिक बढि नै नरम बनेका छन् । तर, आफ्नै गुटका नेता पौडेलप्रति आक्रमक रुपमा प्रस्तुत भएका छन् । कतिसम्म भने कोइरालाले पौडेललाई सार्वजनिक रुपमै आलोचना गर्न थालेका छन् ।
कांग्रेस निकट उच्च स्रोतले दिएको जानकारी अनुसार कोइराला नेता पौडेलसँग दुरी बढाएर देउवासँग नै नजिक हुन थालेका छन् ।
१३ औँ महाधिवेशनमा पौडेल समुहबाट महामन्त्रीमा विजयी भएका कोइरालालाई आगामी महाधिवेशनमा सभापति बनाउने आश्वासन दिएर देउवाले आफ्नो समुहमा ल्याएका हुन् ।
चुनावमा पार्टीका अधिकांश उम्मेदवार पराजित भएपछि नेतृत्वको कमजोरी औँल्याउँदै सभापति देउवाको राजिनामासमेत मागिएको थियो । तर देउवाले चलाखीपूर्ण तरिकाले बाँकी दुई वर्षको कार्यकाल सहज रुपमा पूरा गर्नका लागि कोइरालाको सहयोग मागेर आफू १४ औँ महाधिवेशनमा सभापतिको दाबी नगर्ने बाचा गरेका हुन् ।
शशांकले पनि देउवाको सहयोगमा सभापति बन्ने सम्भावना देखेपछि पौडेलसमुह छोडेका हुन् । शशांकले छोडेपछि पौडेल समुह कमजोर बन्ने देखिएको छ ।
सभापति देउवाले पदाधिकारी मनोनयन गर्न खोज्दा पौडेल पक्षले दुई महिनाभित्र गर्नुपर्ने मनोनयन दुई वर्षपछि गर्दा विधान विपरित हुने भन्दै विरोध गर्दा महामन्त्री शशांकले भने देउवाको समर्थन गरेका थिए ।
देउवाको बाँकी दुई वर्षको सभापतिको कार्यकालमा समर्थन गरे अर्कोपटक आफू सभापति बन्ने शशांकको दाउ रहेको छ ।




प्रतिक्रिया