यही बैशाखभित्रै सबैलाई ताजुक खुवाउनेगरि अचानक एकता हुन्छ : रामनारायण बिडारी


काठमाडौं, १८ बैशाख ।नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीले समाजवादउन्मुख संविधानलाई कार्यान्वयन गर्दै मुलुकको आर्थिक समृद्धिका लागि वर्तमान सरकारले काम गर्नुपर्ने र समाजवादको आधार तय गर्न पार्टी एकीकरण हुन लागेको बताए ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले एमाले–माओवादी केन्द्रबीच एकता हुने बताउँदै यसप्रति आशंका नगर्न आग्रह गरे । उनले भने,‘एकता रफ्तारमा छ, हामीबीच छिट्टै एकता हुन्छ।’

एकताबारे एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गम्भिर छलफल चलिरहेको विडारीको भनाई थियो । आफ्नो पार्टीका अध्यक्ष प्रचण्डले भनेजस्तै अचानक नै पार्टी एकता हुने उनको भनाई थियो ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘वाम गठबन्धन घोषणा गर्दा जसरी हामीले ताजुक खुवाएका थियौं, त्यसैगरि एकता गरेर ताजुक खुवाउँछौं।’ उनले यही बैशाखभित्रै दुई पार्टीबीच एकता हुने विश्वास दिलाए ।