सहमतिमै अगाडि नबढे ठीक नहुने देउवालाई पौडेलको चेतावनी


दमौली, तनहुँ, १८ वैशाख : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानको परिधिभित्रै रहेर सहमतिमै पार्टी चलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ ।

१२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस तनहुँद्वारा आज दमौलीमा आयोजित कार्यक्रममा उहाँले काँग्रेस विधि र सिद्धान्तमा चल्ने पार्टी भएकाले त्यहीअनुसार पार्टीलाई अगाडि बढाउन आफूले सभापति देउवालाई सुझाव दिएको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले गएको निर्वाचनमा पार्टी हारे पनि सिद्धान्तले सधै जितेको भन्दै त्यही सिद्धान्तलाई टेकेर काँग्रेस संगठन विस्तारमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

काँग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलले काँग्रेस सुध्रेर अगाडि बढे अर्को चुनावमा फेरि ठूलो पार्टी हुने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वसांसद ध्रुव वाग्लेले पार्टीका सबै कार्यकर्ता एक ढिक्का भएर अगाडि बढे अर्को चुनावमा कांग्रेसको जित सुनिश्चित रहेको बताउनुभयो ।

कार्यक्रममा श्रमको सम्मान गर्दै लामो समयदेखि घर बनाउने काममा मजदुरी गर्दै आएका व्यास नपा–२ का ६३ वर्षीय कृष्णबहादुर भुजेल, ३० वर्षदेखि यातायात क्षेत्रमा काम गर्दै आएका माइक्रो बस चालक ५४ वर्षीय अक्कल भण्डारी र नाइ संघमा आवद्ध रहेर लामो समय श्रम गर्दै आएका नन्दु ठाकुरलाई सम्मान गरिएको थियो ।