Logo

केपी ओलीपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउँछौँ : झलनाथ खनाल



झलनाथ खनाल नेपाली कम्युनिष्ट आन्दोलनका एक नेता हुन् । २०६७ माघ २० मा प्रधानमन्त्री निर्वाचित भएका खनाल नेकपा (एमाले)का वरिष्ठ नेता पनि हुन्, पूर्व अध्यक्ष पनि हुन् । उनै खनालसँग एमाले र माओवादीबिचको एकता प्रक्रियामा केन्द्रित रहेर ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

पार्टी एकताको घोषणा कहिले हुन्छ ?
दुईवटा पार्टी मिलेको दिन एकता घोषणा हुन्छ । अब छिटै हुन्छ । वैशाख महिनाभित्र हुन सक्छ । केही गृहकार्य गर्न बाँकी छ । गृहकार्य सकिएपछि एकता हुन्छ । मैले हिजोमात्रै पनि प्रचण्डसँग लामो कुराकानी गरेको थिएँ । कुराकानीबाट मैले हामी एकताको निकट पुगेको पाएँ । वैचारिक, राजनीतिक, संगठनात्मक कुरामा सहमतिको नजिक पुगेका छौँ । अब विधि र प्रक्रिया पुरा गरेर एकता गर्छौँ ।

वैशाख ९ गते नै एकता गर्ने भन्नुभएको थियो । हुन्छ हुन्छ भनेको पनि धेरै भयो । हुन सकेन । एकतामा समस्या देखिएको हो ?
एक वर्षभित्र एकता हुन्छ । एक वर्षभित्र भनेको तुरुन्तै हो । मेरो विचारमा जेठ महिना नलाग्दै एकता हुन्छ ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबिच कुरा मिलेको छैन, त्यसैले एकता हुन धेरै गाह्रो छ भन्छन् ? पदीय भागबण्डामै समस्या छ नि ?
अब धेरै गाह्रो छैन । ठूलो दुईवटा पार्टीलाई मिलाउन वैचारिक, राजनीतिक, संगठनात्मक समस्या छन् । नेताहरुको व्यवस्थापदेखि कार्यशैलीको समस्या छ । यि सारा समस्या मिलाउन समय र प्रक्रिया लाग्छ । हामी सम्वादका आधारमा प्रक्रिया मै छौँ । मैले हेर्दा अब चाँही एकता नजिक छ ।

असोजदेखि अहिलेसम्म सम्वाद त जारी छ । तर परिणाम निस्कन किन सकेन ?
हामी चुनावदेखि नै एकतावद्ध भएर अगाडि बढिरहेका छौँ । अब छुट्टिन मिल्दैन । एउटै सरकार बनेको छ । सरकार र जनमत पनि छुट्टयाउन मिल्दैन । अब त जस्तोसुकै परिस्थीतिमा पनि एकता टार्न मिल्दैन ।

एमालेले माओवादीलाई गलाएर एकता गर्न खोज्यो भन्ने गुनासो माओवादीका नेताहरुले गरिरहेका छन् नि ?
एमालेले माओावदीलाई गलाउने वा माओवादीले एमालेलाई गलाउने कुरा होइन । यो दुईवटै पार्टीमा भएका विभिन्नताको अन्त्य गर्दै सम्मानजनक एकता गर्ने हो ।

एकताको महाधिवेशनअघि आलोपालो पद्धतिमा जानुपर्छ भनेर माओवादीले भनिरहेको छ । यसमा तपाईहरु सहमत हुनुभएको हो ?
पार्टी एकतावद्ध भएपछि आलोपालो भन्ने कुरा नै सकिन्छ । जसले जसले सही नीति, सिद्धान्त र व्यवहार अघि सार्छ उही नेता बन्छ । गलत प्रवृत्तिका नेताहरु फ्याकिन्छन् ।

एकतापछि प्रचण्डलाई तपाईहरुले कस्तो किसिमको भूमिका दिदै हुनुहुन्छ ?
प्रचण्डलाई अहिले नै सह अध्यक्ष बनाउँदैछौँ । प्रधानमन्त्री त पहिला पनि बन्नुभएकै हो । फेरी पनि हुन सक्नुहुन्छ । पार्टी अध्यक्ष पनि हुन सक्नुहुन्छ । त्योभन्दा अरु के दिने ?

त्यसो भए केपी ओलीपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउनुहुन्छ ?
यस विषयमा त सहमति भइसकेको छ । ठूलो कुरै भएन नि । अब बन्ने नेपाल कम्युनिष्ट पार्टीले अर्को प्रधानमन्त्री बनाउँदा प्रचण्डलाई बनाउन सकिन्छ । यसमा कुनै विमति छैन ।

अब तपाईको भूमिका चाँही के हुन्छ त ?
म चाँही पार्टीलाई एकताबद्ध बनाउने, अझ बलियो बनाउने काममा लाग्छु । भोलीका दिनमा पार्टी र कार्यकर्ताको चाहनाअनुसार नेतृत्वमा जान पनि सक्छु ।

सत्तरी वर्ष काटेको नेताले राजनीतिक गर्न नपाउने भन्ने थियो । तर त्यसलाई किन हटाउनुभयो ?
सत्तरी वर्ष काटेकाले पनि राजनीतिक गरिहाल्छन् नि ।

वामदेव गौतमलाई एकपटक अध्यक्ष बनाउनका लागि उमेरको हद हटाउनुभएको हो ?
उहाँलाई त मेरो पहिलेदेखि नै शुभेच्छा छ । अब उहाँ कसरी अगाडि बढ्नुहुन्छ, त्यसमा निर्भर हुन्छ ।

तर गौतमले तपाईलाई राष्ट्रपति बनाउने कुरामा सहयोग गर्नुभएन है ?
वितिसकेको कुरा नकोट्याउँ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदैहुनुहुन्छ । मोदीको नेपाल भ्रमणले के सन्देश दिन्छ ?
उहाँका निश्चित कार्यक्रमहरु हुन्छन् । ति कार्यक्रमहरु सम्पादन गर्ने हो । केही सहमति सम्झौता जुट्यो भने त्यो पनि हुन्छ । नेपाल र भारत दुईवटै स्वतन्त्र र सार्वभौमसम्पन्न राष्ट्र हुन् । भारतका प्रधानमन्त्रीलाई हामी भावपूर्ण स्वागत गर्न चाहन्छौँ । पहिलोपटक नेपाल भ्रमणका क्रममा मोदीले नेपालको संसदलाई सम्बोधन गर्नुभएको थियो । त्यसबेला नेपाली जनताको मन जित्नभएको थियो । अहिले पनि त्यस्तै होस् । नेपालको स्वतन्त्रताको जनु आकांक्षा छ, त्यसलाई उहाँले परिपूर्ति गर्न सक्नुहुनेछ भन्ने विश्वास लिएको छु । नेपाल भारतको सानो छिमेकी मुुलुक हो । तर नेपाल पनि सार्वभौमसत्ता सम्पन्न मुलुक हो । भारत जति ठूलो भए पनि नेपाल–र भारत दुवैको सार्वभौमसम्पन्नता समान हुन्छ । यो कुरामा भारतले राम्रोसँग मनन गर्न सक्यो भने दुई देशबिचको सम्बन्ध प्रगाढ हुँदै जान्छ ।



प्रतिक्रिया दिनुहोस्