काठमाडौं, २१ बैशाख । सरकारले सार्वजनिक सवारी–साधन बन्द गर्ने यातायात व्यवसायी समिति र संघका पदाधिकारीको बैंक खाता बन्द गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयले सिन्डिकेटका पक्षपाती यातायात व्यवसायी समितिका पदाधिकारीहरुको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ ।सवारी साधन बन्द गर्ने यातायात व्यवसायीहरुलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएलगत्तै आज देशभरिबाट दर्जनौं व्यवसायीहरु पक्राउ परेका छन् ।
सिंहदरबारस्थित् गृहमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा गृहमन्त्री थापा, यातायातमन्त्री रघुवीर महासेठ र यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईवीच छलफल भएको थियो । छलफलपछि मन्त्री थापाले व्यवसायीहरुको सम्पत्ति छानबिन गर्ने बताएका थिए ।
त्यस्तै आजै रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महानिर्देशक भट्टराईलेपनि समिति र व्यवसायीहरुको बैंक खाता रोक्का गर्न गृहमन्त्रालयलाई सिफारिश गरिएको जानकारी दिएका थिए । त्यो लगत्तै भएको बैठकले यस्तो निर्णय गरेको हो ।




प्रतिक्रिया