Logo

रोजेका सामुदायिक विद्यालयमा ६० प्रतिशत विद्यार्थीले भर्ना पाएनन्



काठमाडौं २५ बैशाख ।  रुपन्देहीमा उत्कृष्ट ठहरिएका सामुदायिक विद्यालय विद्यार्थी तथा अभिभावकको रोजाइमा परे पनि अधिकांशले भर्ना पाएका छैनन् । उत्कृष्ट नतिजा ल्याएर स्थापित भएका सामुदायिक विद्यालयमा भर्नाका लागि आवेदन दिएका ६० प्रतिशतसम्मले भर्ना पाएनन् । बुटवलको कालिकालगायत विद्यालयमा निजी छाडेर आएका विद्यार्थीले समेत प्रवेश परीक्षामा नाम निकाल्न सकेनन् ।

कालिका मावि शिक्षा मन्त्रालयबाट पटक–पटक पुरस्कृत भएको र नेपालकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयमा पर्दछ । यो शैक्षिक सत्रमा नयाँ भर्ना हुन तीन हजार एक सय ४३ जनाले प्रवेश परीक्षा दिएका थिए । तर, एक हजार दुई सयले मात्र भर्ना पाएका छन् । सो विद्यालयमा अहिले कक्षा १२ सम्म साढे पाँच हजार विद्यार्थी अध्ययनरत छन् । बुटवलकै चर्चित निजी विद्यालय छाडेर आएकाहरूले समेत नाम निकाल्न सकेनन् । यस आर्थिक वर्षदेखि कालिका र मानवज्ञान मर्ज भएर कालिका मानवज्ञान भएका कारण पनि विगतभन्दा धेरै विद्यार्थीले भर्ना हुने मौका पाएका हुन् ।

मर्जका कारण धेरैले मौका पाए
यसै शैक्षिक सत्रदेखि कालिका मावि र मानवज्ञान मर्ज भएर कालिका मानवज्ञानबाट शैक्षिक कार्यक्रम सञ्चालन भएको छ । मर्ज हुँदा पूर्वाधार बढी भएकाले पनि यस वर्ष १२ सयभन्दा बढी नयाँ विद्यार्थी भर्ना लिन सकेको हो । मानवज्ञान रहेको भवनमा यस वर्ष चार सय विद्यार्थी थपिएका छन् । अघिल्लो वर्ष यो विद्यालयमा डेढ सय विद्यार्थी थिए । यस वर्ष पाँच सय ९० विद्यार्थी पुगेका छन् ।

त्यसैगरी, कालिका मानवज्ञानमा कक्षा १२ सम्म पाँच हजार ६ सय विद्यार्थी अध्ययनरत छन् । यस विद्यालयले आगामी पाँच वर्षभित्र आठ हजार विद्यार्थी पु-याउने लक्ष्य राखेको प्राचार्य घनश्याम पाठकले बताए । भौतिक पूर्वाधार तयार भएमा आगामी दुई वर्षभित्रै आठ हजार विद्यार्थी पु-याउन सकिने उनले बताए । ‘हामीप्रतिको अभिभावकको विश्वासले गर्दा विद्यार्थी थेग्नै नसक्ने गरी भर्नाका लागि आवेदन दिन आएका छन्, आगामी दिनमा अझ बढी सुधार गर्दै उत्कृष्ट शैक्षिक संस्थाकै रूपमा स्थापित गर्न लागिपर्छौं,’ पाठकले भने । कालिकामा दुई सय १२ जना शिक्षक–कर्मचारी रहेका छन् ।

नवीन औद्योगिकमा पनि चाप उस्तै
बुटवलको नवीन औद्योगिक कद्दुबहादुर रीता माध्यमिक विद्यालयमा पनि विद्यार्थीको चाप उस्तै छ । यो विद्यालयमा अध्ययन गर्न चाहेका ६० प्रतिशतभन्दा बढीले अवसर पाएनन् । नवीन औद्योगिकका प्राचार्य प्रेमबहादुर बस्नेतका अनुसार एक हजार एक सय ११ ले नयाँ भर्नाका लागि आवेदन दिएकामा तीन सय ४८ ले मात्र अवसर पाएका छन् । सो विद्यालयमा सामान्यतर्फ नौ सय ६१ जनाले निवेदन दिएकोमा तीन सयजनालाई भर्ना गरिएको छ । इन्जिनियरिङतर्फ डेढ सयले आवेदन दिएकोमा ४८ जनाले मात्र भर्ना पाएका छन् । इन्जिनियरिङतर्फ कक्षा ९ बाट अध्यापन हुन्छ । सो विद्यालयमा अहिले एक हजार सात सय विद्यार्थी अध्ययनरत छन् ।

कान्तिमा पनि आधाले भर्ना पाएनन्
बुटवलको कान्ति माविमा पनि नयाँ भर्ना हुन चाहेका ५० प्रतिशतले अवसर पाएनन् । एक हजार दुई सय विद्यार्थीले प्रवेश परीक्षा दिएकोमा ६ सयले भर्ना पाएको प्राचार्य गोविन्द ज्ञवालीले बताए । कान्तिमा १० कक्षासम्म एक हजार ६ सय विद्यार्थी छन् । कक्षा १२ सम्म तीन हजार विद्यार्थी अध्ययनरत छन् । संस्थागत विद्यालयभन्दा गुणस्तरीय शिक्षा दिन सफल भएका कारण विद्यार्थी आकर्षण बढ्दो रहेको प्राचार्य ज्ञवालीले बताए । कान्तिमा शिक्षक–कर्मचारी १ सय २० जना रहेका छन् ।

कालिका लगातार उत्कृष्ट
नेपालका सामुदायिक विद्यालयमध्ये सबैभन्दा धेरै विद्यार्थी संख्या रहेको तथा शैक्षिक गुणस्तरमा पनि उत्कृष्ट कालिका अर्को कमजोर विद्यालय मानवज्ञानसँग मर्ज भएको थियो । नेपालका सामुदायिक विद्यालयमा लगातार तीन वर्षदेखि उत्कृष्ट रहँदै आएको बुटवल– १० को कालिका मावि अति न्यून विद्यार्थी संख्या रहेको बुटवल– १० कै रामनगरको मानवज्ञान माविसँग यसै शैक्षिक सत्रबाट लागू हुने गरी मर्ज भएको थियो ।

०७१, ०७२ र ०७३ सालमा लगातार सर्वोत्कृष्ट नतिजा आएपछि कालिका अब झन् व्यवस्थित रूपमा सञ्चालन भइरहेको प्राचार्य पाठकको भनाइ छ । रामनगरको कालिका मानवज्ञानमा साबिकको कालिका माविका तालिमप्राप्त दक्ष शिक्षक–शिक्षिकाले पढाउन थालेका छन् । मानवज्ञानका शिक्षक–कर्मचारीलाई कालिकामा ल्याएर तालिम दिइएको छ । मानवज्ञान मावि रहेको ठाउँमा तीन बिघा दुई कट्ठा जग्गा रहेको छ । जग्गा प्रशस्त भएकाले क्रमशः भौतिक संरचना बनाउँदै विद्यार्थी संख्या बढाउन सकिने प्राचार्य पाठकले बताए ।

सामुदायिकमा आकर्षण किन ?
सामुदायिक विद्यालयले गरेको शैक्षिक सुधारका कारण विद्यार्थी आकर्षण बढेको हो । अंग्रेजी माध्यममा पढाइ हुनु, खर्च कम लाग्नु र माथिल्लो तहमा छात्रवृत्ति पाइने कारणले पनि सामुदायिक विद्यालयप्रति आकर्षण बढेको हो । बुटवलका केही विद्यालयले राम्रो पारिश्रमिक दिएर शिक्षक ल्याउने र सुधारमा बढी ध्यान दिएका कारण शिक्षामा गुणस्तर बढेको अभिभावकको भनाइ छ ।
नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्