वैशाख, काठमाण्डौ । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई सरकारले स्पष्टीकरण मागेको छ ।
टेलिकमको व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै मन्त्रिपरिषदको सोमवार साँझ बसेको बैठकले राजभण्डारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
बैठकले सूचना तथा सञ्चार मन्त्रालयलाई स्पष्टिकरण सोध्न स्वीकृति दिएको हो । टेलिकमको सेवा र गुणस्तर निरन्तर खस्किँदै गएको र प्रतिस्पर्धी सेवा प्रदायकभन्दा १६ अर्ब रुपैयाँले ओह्रालो लाग्दा पनि कम्पनीको सेवा प्रवाह सुधार गर्न वर्तमान नेतृत्व असक्षम भएको आरोप लागेको छ ।
गतसाता प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटासहितको उपस्थितिमा कामिनीसहित टेलिकमका अधिकारीहरुलाई मौखिक प्रष्टीकरण लिएका थिए ।
नेपाल टेलिकमको नेतृत्वमाथि युटीएल र सिजी कम्पनीबाट १० अर्ब भन्दा बढी रकम उठाउन नसकेको आरोपसमेत लागेको छ । त्यस्तै टेलिकमका कर्मचारीले असीमित सुविधा लिइरहेको र राज्यकोषमा जानुपर्ने कम्तिमा ४० करोड रुपैयाँ सेवा सुविधाका नाममा दुरुपयोग भएको आरोपसमेत टेलिकमको व्यवस्थापनमाथि लागेको छ ।
अप्टिकल फाइबर बिछ्याउने काममा कुनै प्रगति नभएको, टावर लगायत पूर्वाधारको काम हुन नसकेको लगायतका आरोप राजभण्डारीमाथि लागेको छ । तत्कालीन सञ्चारमन्त्री राम कार्कीका पालामा ०७३ मा नियुक्ति पाएकी कामिनीको पदावधि ०७६ सालसम्म छ ।




प्रतिक्रिया