Logo

चर्किएको पहाडमुनि गाउँ



काठमाडौं २६ बैशाख ।
अन्यत्र कतै पनि जग्गाजमिन नभएका भूकम्पपीडितले चर्किएको पहाडको फेदीमा धमाधम घर बनाइरहेका छन्। सरकारले पुनर्निर्माण गर्न ताकेता गरेपछि सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-५ सिँगार्चेका भूकम्पपीडितले चर्किएको र धाँजा फाटेको पहाडको फेदीमा घर बनाउन थालेका हुन्।

गाउँबाट माथि रहेको ठाउँठाउँमा धाँजा फाटेको पहाडमुनि चन्द्रबहादुर तामाङ घर बनाइरहेका छन्। कुनै विकल्प नभएकाले आफू त्यस्तो ठाउँमा घर बनाइरहेको उनको भनाइ छ। ‘डाँडाको ठाउँठाउँमा चिरा परेको छ’, धाँजा फाटेको पहाड देखाउँदै उनले भने, ‘तैपनि घर बनाउने ठाउँ अन्यत्र नभएकाले यहीँ बनाउन थालें। डर नलाग्ने त कुरै भएन।’

भूकम्पमा धाँजा फाटेको पहाडमुनि ३० घर बनिरहेका छन्। स्थानीय अगुवा बेन्द्रे तामाङ भन्छन्, ‘३० घर त सीधै पहाडमुनिका हुन्, पहिरो गयो भने सिँगार्चे र कसेरीका २ सय ८५ परिवार प्रभावित हुन्छन्।’

त्यो डाँडामा ठाउँठाउँमा चिरा परेको चन्द्रबहादुरले बताए। ‘तैपनि घर बनाउने ठाउँ नहुँदा यहीँ बनाउन थालें’, उनले भने। थोरै डर भए पनि घर बनाउन सकेकोमा उत्साही देखिएका चन्द्रबहादुर निर्धक्क भन्छन्, ‘त्यत्रो भुइँचालोले त मार्न सकेन, त्यो पहिरो आए पनि जोगिन सकिहालिएला नि!’

चन्द्रबहादुर मात्र होइन, त्यही ठाउँकी कृष्टि तामाङ पनि धाँजा फाटेकै पहाडमुनि घर बनाइरहेकी छन्। भूकम्पको केही पछि आफ्नो जग्गा पहिरोले पुरेपछि आफंैले कमाउँदै आएको साहूको जग्गामा घर बनाइरहेकी कृष्टिलाई कुनै दिन पहिरो आएर गाउँ नै पुर्ला भन्ने चिन्ता त छ, तर उनीसँग विकल्प छैन।

‘सुकुमवासी भनौं भने लालपुर्जा छ, जग्गा छ भनौं भने सबै पहिरोले पुर्‍यो’, कृष्टिले पीडा पोखिन्, ‘साहूकै निगाहामा पाएको जग्गामा बनेको घर पनि कुन दिन, त्यो पहाडै आएर छोप्ने हो, थाहा छैन।’

अन्यत्र जाने ठाउँ नभएकाले बाध्य भएर त्यहीँ घर बनाउनुपरेको उनी बताउँछिन्। भूकम्पका कारण सिँगार्चे र कसेरीका दुई सय ८५ परिवार प्रभावित छन्। स्थानीय प्रशासनमा जमिन धाँजा फाटेको जानकारी गराउँदा पनि प्राविधिक पठाएर बस्न हुने र नहुने नछुट्याएकोमा बेन्द्रे आक्रोशित छन्।

वडा सदस्यसमेत रहेकी रत्नकुमारी तामाङ पनि बाढीपहिरो दुवैको जोखिम मोलेर घर बनेको बताउँछिन्। वडा कार्यालयले प्रशासनमा पत्राचार गरे पनि त्यसको सुनुवाइ नभएकाले स्थानीयले त्यही ठाउँमै घर बनाउन थालेको उनको भनाइ छ।

नजिकको खोल्सोमा आउने बाढी नियन्त्रण गर्न ग्रामीण महिला सिर्जनशील परिवारले जोहानिटर इन्टरनेसनलकोे सहयोगमा तारजाली लगाएको छ। सिंगै पहाड बग्ने खतरा छेक्न नसके पनि बाढीबाट हुन सक्ने सम्भावित प्रकोप रोक्न मद्दत पुर्‍याउने उद्देश्यले तारजाली लगाइएको संस्थाकी कार्यकारी निर्देशक नानीमैया थापाले जानकारी दिइन्।
अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्