Logo

‘दुई देशका प्रधानमन्त्रीले एकअर्काको देशमा भ्रमण गर्नु सकारात्मक’



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन् । पक्ष विपक्षमा मत बाझिएको पाइन्छ । मोदीको नेपाल भ्रमणकै सेरोफेरोमा रहेर पूर्व परराष्ट्रमन्त्री तथा पूर्व राजदुत भेषबहादुर थापासँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाल भारत प्रवुद्ध समुहको संयोजकसमेत रहेका थापासँग नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल होला ?
सफल गराउनुपर्छ । नेपालको हित र दुई देशबीचको सम्बन्ध बढाउन भ्रमण सफल बनाउनुपर्छ ।

मोदीको भ्रमणको विषयलाई लिएर जनमत विभाजित छ नि ?
नेपालको जनमत सधैँ विभाजित नै छ । यो सामान्य कुरा हो । तर अब जनताको मन जित्ने गरी दुई देशबीचको समस्या समाधान गर्दै जानुपर्छ ।

नेपालका प्रधानमन्त्री भारत जाँदा र भारतका प्रधानमन्त्री नेपाल आउँदा, दुवै अवस्थामा विवाद हुने गरेको छ । किन होला ?
भारतका प्रधानमन्त्री चार वर्षमा तेस्रो पटक नेपाल आउँदैछन् । नेपालका सबै प्रधानमन्त्री भारत गएकै छन् । त्यसले देखाएको सामिप्यता र सद्भावका आधारमा दुई देशबीचको समस्या समाधानको बाटोमा पनि हामी हिँडिरहेका छौँ । दुई देशका प्रधानमन्त्री एकअर्काको देशमा भ्रमण गर्नुलाई सकारात्मक रुपमा लिनुपर्छ ।

मोदीलाई गरिने नागरिक अभिनन्दनलाई लिएर जनमत विभाजित भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नागरिक अभिनन्दन होइन, नगर अभिनन्दन हो भन्नुभयो । यसलाई कसरी लिनुहुन्छ ?
अभिनन्दनको परिभाषालाई लिएर वादविवादमा नफसौँ । भ्रमणको पूर्वसन्ध्यामा विवाद टुङ्ग्याएर सकारात्मक रुपमा सद्भाव बढाउनेतिर ध्यान केन्द्रित गर्नुपर्छ ।

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई लिएर विवाद र विरोध भइरहेको छ । यस्तो किन हुन्छ ?
संक्रमणकालमा वादविवाद हुनु अस्वभाविक हो भन्न सकिदैन । अर्थात विवाद हटाउन सकेनौँ । तर आन्तरिक विवादले गर्दा दुई देशबीचको सद्भाव भ्रमणमा आँच आउनुहुँदैन ।

नेपाल भारतबीच यस्ता भ्रमण भइरहन्छन् । भ्रमणका क्रममा विभिन्न सम्झौता हुने गरेको छ । तर सम्झौता कार्यान्वन हुन सक्दैन नि ?
यो विषयमा प्रधानमन्त्री केपी ओली भारत भ्रमणका बेला पनि कुरा राख्नुभएको थियो । यही समस्या समाधानका लागि सही ट्रयाकमा हिँड्नुपर्छ । सद्भाव भ्रमणले उच्चस्तरको समझदारी कायम गर्न सक्नुपर्छ ।

तपाई नेपाल भारत प्रवुद्ध समुहको संयोजक पनि हुनुहुन्छ । यस्ता कुरामा तपाईको समुहले समाधान खोज्न सक्दैन ?
नेपालका प्रधानमन्त्री केपी ओली भारत गएर विभिन्न सम्झौता गर्नुभयो । तर कार्यान्वयन भएन, त्यसैले जनतामा नैराश्यता बढेको हो । यो कुरा माथिल्लो तहमा पनि पुगेको छ । मोदी र ओली नै प्रधानमन्त्री हुँदा प्रवुद्ध समुहको संरचना बनेको हो । हामीले दुई देशबीचको समस्या समाधान र सम्बन्ध सुधारका लागि प्रयास गरिरहेका छौँ । वार्ताले सकारात्मक मोड लिएको छ । भारतीय पक्षको सोचाईमा पनि परिवर्तन आइरहेको छ ।

दुई देशबीचमा देखिएको सबैखाले समस्या समाधान हुन सक्छ कि सक्दैन ?
जुन उद्देश्य राखेर कार्यतालिका बनेको छ, यसलई दुवै पक्षले अंगिकार गरेर अगाडि बढिरहेको छ । योभन्दा अगाडि ७० वर्षसम्म हामीले गुनासो मात्रै गरिरह्यौँ । अहिले त समस्या समाधानको बाटोमा अगाडि बढिरहेका छाँै । यो प्रक्रियाले अन्तिम रुप लिने संघारमा पुगेका छौँ । अब बाधा अड्चन हटाएर नेपालको राष्ट्रिय हित र स्वार्थको संरक्षण गर्ने गरी सबै अगाडि बढ्नुपर्छ । यसो हुन सक्यो भने स्थायित्व र प्रगति प्राप्त गर्न सकिन्छ ।

मोदीको भ्रमण एजेण्डाविहिन छ भन्ने अरोप पनि आइरहेको छ । यहाँले के पाउनुभएको छ ।
पक्ष–प्रतिपक्षले के भन्यो भन्ने कुरामा हाम्रो विज्ञ समुहलाई नतान्नुस् । हामी चाँही राष्ट्रिय हितको परिधीभित्र रहेर काम गरिरहेका छौँ ।

दुई प्रधानमन्त्रीबीचको भेटमा असमान सन्धीहरुको विषयमा छलफल हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?
दुई प्रधानमन्त्रीले के विषयमा कुराकानी गर्छन् भन्ने विषय मैले अड्कल गर्ने कुरा होइन । तर यिनै दुई प्रधानमन्त्रीले प्रवुद्ध समुहको गठन गरेका हुन् । त्यसैले यो परिवर्तनलाई ध्यानमा राखेर नयाँ आयाममा प्रवेश गर्नुपर्छ भन्ने कुरामा ओली र मोदी दुवै सहमत भएका हुन् । हामीले त गम्भीर प्रकारबाट समस्या समाधानका लागि अन्तिम स्वरुप दिने प्रयासमा छौँ ।

प्रवुद्ध समुहमा के कस्ता विषयमा छलफल भएका छन् ।
नेपालले चाहेका सबै कुरालाई स्पष्ट रुपमा बोध हुने गरी उठाएका छौँ । कुनै पनि समस्या उठान गर्न छुटाएका छैनौँ ।



प्रतिक्रिया दिनुहोस्